कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण गर्न अझै भएन सम्झौता
२८ गते शिलान्यास
धनगढीः कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणका लागि अझै सम्झौता भएको छैन। आवश्यक बजेट विनियोजन गर्दै शिलान्यासको मिति तय भए पनि सम्झौता भने नभएको हो। विमानस्थलका लागि पुस ११ गतेको नेपाल नागरिक उड्डन प्राधिकरणको बैठकले बजेट विनियोजन गरेको थियो।
प्राधिकरणले दुई करोड ५१ लाख बजेट विमानस्थलमा भौतिक संरचना निर्माणका लागि विनियोजन गरेको हो। विमानस्थल निर्माणमा संघीय पर्यटन मन्त्रालयको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी हुने छ।
निर्माणका लागि केएस–कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको छ। तर अझै सम्झौता भने भएको छैन। बजेटको पनि व्यवस्थापन भएकाले कामले गति लिने नागरिक नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापा बताउँछन्। ‘मन्त्रीले ज्यूले २८ गते शिलान्यास गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा भइसकेको छ। अब काम सुरु हन्छ।’
पुस २८ गते संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थल शिलान्यास गर्ने कार्यक्रम तय भएको हो। विमानस्थल शिलान्याससँगै निर्माणको कामले पनि गति लिने दाबी प्राधिकरणको छ। मजगाउँ विमानस्थल द्धन्द्धकालमा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो। त्यसपछि उक्त विमानस्थल गौचरणमा परिणत भएको छ।