खराब मौसमले धनगढीको उडान लगातार प्रभावित, 'भीओआर-डिएमई' जडान भयो, सञ्चालन भएन
धनगढीः धनगढीका राजेन्द्र विष्ट अहिले संघीय राजधानी काठमाडौंमा बस्दै आएका छन्। उनी काम विषेशले सोमबार धनगढी आउनुपर्ने थियो। एक बैंकको परीक्षामा सहभागी हुन धनगढी आउनुपर्ने हुँदा उनले छिटो हुने भन्दै हवाइ यात्रा रोजे। सोमबार २ बजेबाट हुने परीक्षामा सहभागी हुन उनले बिहान सवा ७ को टिकट लिए। समयमै विमानस्थलमा पुगेका विष्टले सवा १२ बजेसम्म पर्खनुपर्यो।
मौसम खराब भएका कारण समयमा जहाज नउडेपछि विष्ट धनगढीमा भएको परीक्षामा सहभागी हुन पाएनन्। केही अगाडि मात्रै धनगढी–काठमाडौं हवाइ यात्रा गरेका विमल जैरुले पनि समयमा जहाज नउड्ने गरेको गुनासो गरे। ‘छिटो र सहज यात्राका लागि हामीले हवाइ यात्रा रोज्छौं, तर उडानमा लिाई हुँदा महंगो शुल्क तिरेर पनि आपतकालिन काम हुन सक्दैन’ उनले भने।
अहिले तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने गरेको छ। बिहान १२ बजेसम्म हुस्सु नहट्ने कारणले बिहानका सबै उडानमा ढिलाई हुने गरेको छ। तर भीओआर–डिएमई उपकरण जडान भए कम भिजीबिलिटीमा पनि उडान भर्न सकिने बताइएको छ। अहिले बुद्ध एयरले मात्रै कम भिजीविलिटीमा पनि उडान भर्दै आएको छ। नागरिक उड्डयन प्राविधरणको स्वीकृतिमा ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम जडान गरेपछि बुद्ध एयर पाँच हजारको भिजिबिलिटीको सट्टा १७ सय मिटरको भिजिबिलिटीमै उडान गर्दै आएको हो। अन्य विमान कम्पनीका जहाजहरु भने ५ हजार हजारको भिजिबिलिटीमा मात्रै उडान भर्दै आएका छन्। जसका कारण मौसम खराब भएको दिन हवाइ यात्रा प्रभावित हुने गरेको छ।
धनगढी विमानस्थलमा १६ सय मिटर भिजिबिलिटीमा पनि उडान भर्ने योजनासहित भीओआर–डिएमई उपकरण जडान गरिएको छ। जापानी सहयोग नियोग (जाइका)ले उक्त उपकरण जडान गरेको हो। तर अहिलेसम्म परीक्षण हुन नसकेका कारण उक्त उपकरण प्रयोगमा आउन सकेको छैन। उक्त उपकरण सञ्चालन भए हुस्सु र शितलहरका कारण हुने कम भिजिबिलिटीमा पनि हवाइ यात्रा गर्न सकिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। ‘उक्त उपकरण जडानको काम सकिएको छ। जाइकाले परीक्षण गर्न मात्रै बाँकी छ। सञ्चालनमा आउन अझै एक÷दुई महिना समय लाग्न सक्छ’ उनले भने।
जापानी सहयोग नियोग (जाइका)ले धनगढी विमानस्थलसँगै पोखरा र भैरहवामा पनि उक्त उपकरणको परीक्षण गर्ने बताइएको छ। त्यसकारण पनि भीओआर–डिएमई उपकरण पूर्णरुपमा सञ्चालन गर्न अझै दुई महिनाभन्दा बढी समय लाग्ने धनगढी विमानस्थलले जनाएको छ।