कैलालीमा बढ्यो भारतबाट हुने तस्करी, सशस्त्र प्रहरी सेलायो
धनगढीः सीमा क्षेत्रको सुरक्षा तथा भारतबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्ने जिम्मा सशस्त्र प्रहरी बलको पनि हो। सोही अनुसार सीमा क्षेत्रको अधिकांश स्थानमा बोर्डर आउट पोष्ट(बिओपी)हरु पनि स्थापना गरिएका छन्।
कैलालीको एक सय एक किलोमिटर क्षेत्रफल भारतसँगको खुल्ला सीमासँग जोडिएको छ। उक्त क्षेत्रफलमा १८ वटा बिओपीहरु स्थापना गरिएका छन्। तर सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी भने कम हुन सकेको छैन। पछिल्लो समय अवैध नाका तथा विभिन्न घाटबाट हुने तस्करी बढ्दै गएको धनगढीको जुगेडामा पर्ने सीमा क्षेत्रका स्थानीय चक्र खड्काले बताए। ‘घरायसीका सामानको नाममा सधै तस्करी हुने गरेको छ। यसमा सशस्त्रले पनि चासो दिनुपर्छ’ उनले भने।
जिल्लामा धनगढीसहित विभिन्न स्थानबाट दैनिकजसो तस्करी हुँदै आएको बताइन्छ। घरायसी प्रयोजनका सामना बरामद गर्दै आएको सशस्त्र प्रहरीले व्यवसायिक प्रयोजनाका लागि लाखौंको सामान तस्करी गर्दा आँखा चिम्लिने गरेको आरोप लगाएको छ। भारतबाट हुने अवैध तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीको भूमिका निष्क्रिय हुँदै गएपछि तस्करले प्रसय पाएका हुन्।
पछिल्लो समय सशस्त्र प्रहरीको नेतृत्व नै निश्चित व्यक्तिलाई खुसी पार्नमा मात्र केन्द्रीत भएपछि तस्करी बढ्दै गएको आरोप धनगढीको वडा नम्बर २ मा पर्ने सीमा क्षेत्रका स्थानीय मणीराज जोशीले लगाएका छन्। ‘अहिले चोरी तस्करी धेरै बढेको छ। सशस्त्रको पोष्ट अर्कै ठाउँमा छ, तस्करी अर्कै ठाउँबाट हुन्छ’ उनले भने।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २० लाखभन्दा बढीको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले भदौमा १८ लाख ३३ हजार बराबर भन्सार छलीको सामान नियन्त्रण गरेको थियो। असोजमा १६ लाख, कार्तिकमा १० लाख, मंसिरमा १२ लाख र पुसको हालसम्म ६ लाख बराबरको सामान मात्रै बरामद गरेको बताइएको छ।
तर प्रत्येक महिना करोडौंको तस्करी भइरहेको सशस्त्र प्रहरीकै अधिकारी बताउँछन्। यता सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले आफ्नो सक्रियता बढेको दाबी गरेका छन्। ‘अवैध सामान बरामद पहिला बढी भएको अहिले कम भएको भन्दा पहिले समातेको र अहिले नसमातेको भन्ने होइन,’ उनले भने, ‘अहिले बढी परिचालित भएर तस्करी कम भएको पनि हुनसक्छ।’ तर लेनदेनमा कुरा नमिले मात्र सामान समात्ने गरेको आरोप प्रहरीलाई लाग्दै आएको छ।