तस्करीका कारण धरापमा सुदूरपश्चिमको पोल्ट्री व्यवसाय
धनगढीः सुदूरपश्चिम प्रदेश कुखुरा तथा अण्डामा लगभग आत्मनिर्भर भएको मानिन्छ। यस क्षेत्रलाई आवश्यक पर्ने मासु र अण्डा प्रदेशमै उत्पादन हुने गरेको दाबी गरिएको छ। तर सुदूरपश्चिम सरकारसँग भने प्रदेशको कूल माग र उत्पादनको अवस्थाबारे यकिन तथ्यांक छैन।
किसानको यस पेशाप्रतिको आकर्षण र उत्पादनको आंकलन हेर्दा सुदूरपश्चिमलाई पुग्ने मासु तथा अण्डा यसै क्षेत्रमा उत्पादन हुने गरेको छ। तर खुल्ला सीमा भएका कारण भारतबाट तस्करी हुने कुखुराले गर्दा सुदूरपश्चिमको व्यवसाय धरापमा पारेको पोल्ट्री व्यवसायी प्रेम भट्टले बताए। ‘उत्पादन त हाम्रो माग भन्दा पनि बढी छ। तर भारतीय बजारसँग मात्रै हाम्रो प्रतिस्पर्धा हुन सकेको छैन’ उनले भने।
सुदूरपश्चिमको पोल्टी व्यवसायले यस क्षेत्रको आर्थिक वृद्धिदरलाई समेत सहयोग पुगाएको छ। किसानको आयस्रोतलाई बढाएको पोल्टी क्षेत्रले रोजगारी पनि सिर्जना गरेको छ। तर करोडौं लगानी गरेर व्यवसाय सुरु गरिएको भएपनि सरकारी स्तरबाट सहयोग नभएको गुनासो गरिएको छ। बजारको मात्रै उचित व्यवस्थापन गर्नसके यस क्षेत्रको पोल्टी व्यवसायलाई थप सहयोग हुने अपेक्षा किसानको छ। तर यसतर्फ सरोकार राख्ने निकाय गम्भीर देखिएका छैनन्।
भारतबाट हुने अवैध तस्करीलाई मात्रै नियन्त्रण गर्न सके किसानलाई ठूलो मद्दत पुग्ने विश्वास अर्का व्यवसायी पहल देउवाको छ। उनी भन्छन्, ‘सरकारले किसानलाई अहिलेसम्म उचित सहयोग गर्न सकेको छैन। हाम्रा लागि बजारको मात्रै व्यवस्थापन गर्नुपर्छ।’
पोल्टी व्यवसायतर्फ युवा पुस्ताको समेत आकर्षण बढ्दै गएको छ। पछिल्लो समयमा लगानीकर्ताको पनि संख्या धेरै छ। यस क्षेत्रको उत्पादनलाई उचित रुपमा बजारीकरण गर्न सके मासु तथा अण्डा निर्यात गर्न पनि सुदूरपश्चिम सफल हुने देखिएको छ। यस विषयलाई सरकारले अंगाल्न नसकेको आरोप व्यवसायीको छ।
यता प्रदेश सरकारले भने किसानलाई निरन्तर सहयोग गर्दै आएको दाबी गरेको छ। आउने दिनमा समेत पोल्टी क्षेत्रलाई प्राथमिकतामा राख्ने सुदूरपश्चिम प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर मदनसिंह धामी बताउँछन्। ‘हामीले पोल्ट्री व्यवसायीको लागि विभिन्न कार्यक्रम गर्दै आएका छौं। अझै प्राथमिकतामा राखेका हामी काम गर्छौ’ उनले भने।