सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘घुस’ खाएर गरिन्छ शिक्षक भर्ना

२०७८ पुष १५, ०६:१५ रोशन भट्ट

धनगढीः धनगढी उपमहानगरपालिकाको फुलबारीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयले दुई जना शिक्षक आवश्यक परेको भन्दै विज्ञापन आव्हान गर्‍याे। उक्त विज्ञापनपछि अधिकांश इच्छुक व्यक्तिले आवेदन पनि दिए। लिखित परीक्षामा सहभागी भएकाहरुको नतिजा पनि सार्वजनिक भयो। तर दुई जनालाई मात्र लिखित परीक्षामा उत्तिर्ण गराइएपछि उक्त विधिको अहिले विरोध भइरहेको छ। 

वैकल्पिक उम्मेदवार पनि नभएपछि त्यहाँ सोझै आर्थिक लेनदेन भएको गुनासो गरिएको छ। दुई जना शिक्षक भर्ना गर्दा ८ लाखको लेनदेन भएको परीक्षामा सहभागी एक जनाले आरोप लगाए।  ‘वैकल्पिक उम्मेदवारलाई त उतीर्ण गराउनै पर्छ। यसमा लाखौंको चलखेल भएको छ’ उनले भने। 

जिल्लाकै गौरीगंगा नगरपालिकामा पर्ने भवानी राष्ट्रिय माध्यमिक विद्यालयमा पनि शिक्षक भर्ना गर्दा मनोमानी भएको गुनासो आएको छ। आफ्नो निकटको व्यक्तिलाई जागिर दिनका लागि आर्थिक प्रलोभनमा परेर शिक्षक भर्ना गरेको गुनासो आएको हो।

यसैगरी कैलालीका अधिकांश विद्यालयमा शिक्षक भर्ना गर्दा आर्थिक चलखेल हुने गरेको स्वीकार अनौपचारिक रुपमा भने हुने गरेको छ। नेपाल शिक्षक महासंघ कैलालीका सह–अध्यक्ष रोमनाथ अधिकारीले समेत यस्तो गुनासो आउने गरेको बताए। ‘शिक्षक भर्ना गर्दा निश्चित हुनुपर्छ। घुस खानेलाई आवश्यक छनविन गरी कारबारीको दायरामा ल्याउनुपर्छ’ उनले भने। 

विद्यालयमा शिक्षक भर्नामा हुने मनोमानीले गर्दा योग्य व्यक्ति सधै ओझेलमा पर्ने गरेका छन्। यस्तै त्यसरी विद्यालयको गुणस्तरमा समेत सुधार हुन सकेको छैन। तर यस विषयमा शिक्षक संगठनदेखि अन्य सरोकार राख्ने निकाय मौन देखिएका छन्। घुस खाएर शिक्षक भर्ना गर्नेलाई अहिलेसम्म आवश्यक छानविन गरेर कारबाही हुन सकेको छैन। 

हालसम्म उक्त विषयमा आधिकारीक रुपमा उजुरी समेत नपरेको दाबी जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कैलालीका शाखा अधिकृत प्रताप धामीको छ। ‘अहिले सबै अधिकार स्थानीय तहसँग छ। यसमा हाम्रो धेरै सम्बन्ध हुँदैन’ उनले भने।

अहिले माध्यमिक तहका विद्यालय स्थानीय तहले हेर्दै आएका छन्। स्थानीय तहमा जनप्रतिनिधि आएपछि शिक्षक भर्नामा झनै मनोमानी बढेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस