धनगढी पुगेर मूल नाका हुँदै भारत भाग्छन् कैलालीमा हत्या घटनाका आरोपी
धनगढीः गत कात्तिक २३ गते कैलालीका भूपेन्द्र बडुवालको हत्या भयो। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का बडुवालको लम्की, चिसापानी र टीकापुरमा सक्रिय अपराधिक समूहले हत्या गरेको थियो। उक्त घटनामा संलग्न भएको भन्दै मृतक परिवारले २१ जनाको नाममा जाहेरी दर्ता गरेको थियो। तर अहिलेसम्म १२ जना मात्रै प्रहरीको नियन्त्रणमा आएका छन्। मुख्य योजनाकारसहित बाँकी ९ जना भने अझै फरार रहेका छन्।
फरार रहेका ९ जना धनगढी हुँदै त्रिनगर गौरीफन्टा नाका भएर भारत पुगेको र त्यही लुकेर बसेको प्रहरीकै अनुुसन्धानबाट खुलेको छ। उनीहरु घटनाको केही दिनपछि मात्रै भारत पसेको बुझिएको छ। प्रहरीको लापरबाहीका कारण उनीहरु फरार भएको मृतक भूपेन्द्रका आफन्त भगत बडुवालले बताए। ‘राजनीतिक दलका नेताको संरक्षण पनि देखिएको छ। प्रहरी प्रशासनको भूमिका पनि प्रभावकारी छैन’ उनले भने।
जिल्लाकै पूर्वी क्षेत्र जानकी गाउँपालिका वडा नम्बर ९ का अर्जुन दासको पनि घाटी रेटेर हत्या भयो। दासको मृत्युपछि एउटा फोन रेकर्ड बाहिरिएको थियो। उक्त रेकर्डमा हत्या आरोपितले नेपालगञ्जको रुपडिया नाका भएर भारत गइरहेको बताएका छन्। तर अहिले आएर दास हत्याका आरोपित पनि धनगढी हुँदै त्रिनगर गौरीफन्टा नाका भएर भारत पुगेको खुलेको छ। यसमा पनि प्रहरीले लापरबाही गरेको देखिएको पीडित पक्षले आरोप लगाएका छन्।
जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खेकेन्द्र भण्डारीले समयमा घटनाको सूचना नपाएका कारण पनि अपराधि भारत पस्ने गरेको बताए। ‘दासको हत्या भएको धेरै समयपछि मात्रै प्रहरीले थाहा पायो,’ उनले भने, ‘त्यसकारण पनि घटनामा जोडिएकाहरु नियन्त्रण आउन सकेनन्।’
दुवै घटनामा संलग्न आरोपितको ‘टाइमलाइन’ हेर्दा भने घटना भएको केही दिनसम्म पनि उनीहरु कैलालीमा बसेको देखिएको छ। त्यसपछि उनीहरु खुला सीमा नभएर मुल नाकाबाटै भारत गएको देखिएको छ। उक्त समयमा प्रहरीको भूमिका प्रभावकारी देखिएको भए हत्यामा संलग्न भएकाहरु सहजै नियन्त्रणमा आउने बुझाइ धेरैको छ।
तर कैलाली प्रहरी भने यो लापरबाही स्वीकार गर्न तयार छैन। ‘प्रहरीको सक्रियता भएन भन्नु पटक्कै ठिक होइन,’ कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘पहिचान खुलेकाहरुलाई नाकाबाट पनि हामीले पक्राउ गरेका छौं।’