सुदूर नेपाललाई विश्वसँग जोड्दै

कडकनाथ पालेर मनग्य आम्दानी

२०७८ असोज २८, ११:२५ रासस

बनेपाः व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन्। हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ।

विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ। त्यसबाट  हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला २०० का दरले बिक्री हुँदै आएको छ। “यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो नहुने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले बजारमा माग धेरै बढेको छ। अब जिल्लाभर कडकनाथलाई विस्तार गर्ने योजनामा छु।” उनले भने, “पहिलोपटक भएकाले परीक्षणको रुपमा गरिएको र अब बृहत्रुपमा गर्दैछु।”

यसअघि बजारमा चल्ला बिक्री भइसकेको, मासुका लागि बजारमा तीन हजारदेखि तीन हजार ५०० सम्ममा कुखुरा बिक्री हुने गरेको र भाले कुखुरा भने फार्मबाटै उनले प्रतिगोटा दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री हुँदै आएको छ। व्यक्तिगत सम्बन्धदेखि सामाजिक सञ्जालमार्फत पनि  कडकनाथ विक्री भइरहेको व्यवसायी विष्टले बताए।

अमर भूमण्डली बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जिल्लामा नै पहिलो पटक व्यावसायिक कडकनाथ पाल्न सुरु गरेका उनले मासु र अण्डा उत्पादनका साथै चल्ला बिक्री वितरण गर्ने उद्देश्यले सो व्यवसाय थालनी गरेको बताए। फार्ममा अहिले ६०० मलेसियन कडकनाथ जातको कालो कुखुराका साथै ब्रोइलर कुखुरा, बाख्रा र गाईसमेत पालिएको छ। अहिले फार्ममा ५०० कुखुरा छ। आठ महिना अगाडि चितवनबाट चल्ला ल्याएर पाल्न थालिएकामा अहिले अण्डा उत्पादन गरी त्यसबाट चल्ला निकालेर बिक्री गर्ने तयारीमा रहेको व्यवसयी विष्टको भनाइ थियो। 

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लाको सचिवालय सदस्यसमेत रहेका उनी पार्टी राजनीतिमा पनि सक्रिय रहनाका साथै व्यवसायलाई पनि उत्तिकै समय दिँदै आएका छन्। “पार्टीले कुनै पनि मान्छे उत्पादनसँग जोडिएन भने त्यसको राजनीतिक भविष्य छैन भनेर भनिसकेको अवस्थामा अब आफू मात्रै नभई सबै नेता तथा कार्यकर्ता कुनै न कुनै व्यवसायमा आबद्ध हुनैपर्ने अवस्था सिर्जना हुने नै छ, त्यसैले म त पहिलादेखि नै गर्दै आएको कामलाई थप व्यवस्थित पार्दै व्यावसायिक रुपमा नै अगाडि बढिरहेको छु” उनले भने।

आफैँ रेखदेखका लागि खटिएका विष्टले फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन्। कृषि व्यवसायसँगै घरजग्गा कारोबारसँग आबद्ध भएर त्रिमूर्ति डेभेलपर्ससमेत सञ्चालन गर्दै आएका उनले भने, “किसानको छोरालाई करोडौँ रुपैयाँ हिसाब गर्दाको आनन्दभन्दा गाईलाई घाँस हाल्दाखेरीको आनन्द छुट्टै हुन्छ।” त्यससँगै विष्टले गिरिराज कुखुरा २००, लोकल कुखुरा ५०/६०, चार गाई र दश बाख्रा  पनि पाल्दै आएका छन्। चरापालन व्यवसायलाई अगाडि बढाउन ‘वर्ड पार्क’ निर्माण गर्नाका साथै रिसोर्टसमेत सञ्चालन गरेर पर्यापर्यटनको रुपमा विकास गर्दै अगाडि बढ्ने योजनाका साथ काम गरिरहेको उनले बताए।

राजनीतिक व्यक्ति समाजसेवामा राम्रो नभईकन जनताका बीचमा जानाको कुनै अर्थ नरहने भएकाले जोसुकै राजनीतिक व्यक्तिले कुनै न कुनै व्यवसायमा हात हाल्नुपर्ने व्यवसायी विष्टको तर्क छ। जस्को कुनै पेसा वा व्यवसाय छैन, त्यस्तो व्यक्ति नेता बनेपछि जनताले पनि राम्रो नजरले नहेर्ने उनको भनाइ छ। कोरोना महामारीको समयमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने गुर्जो वितरण गरेर देशैँभरि परिचित भएका विष्ट पछिल्लो समयमा कडकनाथ कुखुरापालन व्यवसायमा लागेका हुन्।
 

कमेन्ट लोड गर्नुस