सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गाउँ-गाउँमा बिजुली पुर्‍याएका मजदुरको चुल्हो बलेन

२०७८ असोज १८, ११:२१ विन्दु चन्द

धनगढीः बैतडीमा विद्युत लाइन बिस्तारको काम गरेका कामदारले ज्याला नपाएको गुनासो गरेका छन्। जिल्लाको पाटन नगरपालिकाबाट मेलौली नगरपालिकासम्म लाइन बिस्तार गरेका कामदारले ज्याला नपाएको गुनासो गरेका हुन्।

उनीहरुले असार मसान्त भित्रै ज्याला पाइसक्नुपर्नेमा हालसम्म नपाएको बताएका छन्। ‘असार मसान्त भित्रै ज्याला पाउने भनिएको थियो तर अहिलेसम्म हामीले ज्याला पाएका छैनौं,’ बझाङका कमल बागले भने, ‘परिवार पाल्नकै लागि यहाँबाट त्यति टाढा गयौँ। भोकप्यास नभनी चिसो मौसममा खटिएर काम गर्यौँ तर ज्याला पाएनौं।’

सुरुमा एक महिना काम गरेको रकम पाएको तर त्यसपछिको ज्याला नपाएको उनले बताए छ। ज्यालाको हिसाब किताब गरिदिन ठेकेदारसंँग पटक–पटक सम्पर्क गर्दा पनि फोन नै  नउठाउने गरेको अर्का कामदार मेलौली नगरपालिका वडा नम्बर २ सलेनाका बिरेन्द्रबहादुर चन्दले बताए। 

‘गाउँमै काम गर्ने मौका पायौं। केही महिना यतै काम गरेर गुजारा चलाऊ भनेर परिवारसहित काम गर्न गयौं तर पैसा पाएनौं’ उनले भने। रोजगारीको सिलसिलामा भारतमा रहेका उनी गत असोजमा चाडपर्व मनाउन घर फर्केका थिए। गाउँमै काम गर्ने अवसर पाएपछि उनी घरमै बसेका थिए। 

गाउँमै योजनाहरु आएपछि उनले केही महिना भारत नजाने निधो गरेका थिए। ‘चैते दसैंसम्म देलान भन्ने आशा थियो। नयाँ साल पनि आशैआशमा गयो। असार मसान्तमा दिने भनेर भनेपछि त्यस्तै सानोतिनो खर्चले घर गुजारा चलायौं,’ बीरेन्द्र बहादुर चन्दले भने, ‘असारपछि त ठेकेदार नै हराए। बरु भारत गएको भए थोरै भएपनि परिवारको मुख बुझाउन त हुन्थ्यो नि। यहाँ बसेर फसियो।’ 

ठेकेदारलाई पटकपटक फोन गर्दा पनि फोन नउठाउने  उठाएपनि आजभोलि भन्दै ढाँट्ने गरेको उनले बताए।   

गाउँमै काम योजना आएपछि एकै परिवारका ३/४ जनाले काम पाएका थिए। तर ज्याला नपाउँदा उनीहरु दसैं तिहारको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। ‘पसलमा जम्मै उधारो भयो। तिर्न पैसा छैन। दशै तिहार आउन लाग्यो। अब के खाने होला’ अर्का कामदार सगराम चन्दले भने। 

गत मंसिरमा पाटनदेखि मेलौलीसम्म ३३ केभीको विद्युत लाईन बिस्तार गरिएको थियो। बिस्तारको काम चैतमै सकिएको बताइएको छ। उक्त विषयमा लाइन बिस्तारको ठेक्का पाएका ठेकेदार भानुभक्त जोशीसँग बुझ्न खोज्दा उनीले आफू अस्वस्थ्य रहेको भन्दै कुरा गर्न नसक्ने बताए।  
            

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस