सुदूर नेपाललाई विश्वसँग जोड्दै

राति काल बन्ने धनगढी-अत्तरिया ६ लेनमा छैनन् सडक बत्ती

२०७८ असोज १४, ०५:२८ विन्दु चन्द

धनगढी: कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम लगभग पूरा हुँदैछ। कालोपत्रेको काम पूरा भएको सडकमा रङ्गरोगनको काम हुँदैछ। तर सडकमा बत्ती जडानमा भने अन्योलता देखिएको छ।  सडक बत्ती नभएका कारण रातिको समयमा सडक दुर्घटनाको जोखिम भएपनि बत्ती जडानको कुनै टुङ्गो लागेको छैन।

बत्ती नभएका कारण रातिको समयमा विपरीत दिशाबाट आइरहेका सवारी साधनको लाइट आँखामा लाग्दा दुर्घटना हुने जोखिम रहेको मोटरसाईकल चालक राजु लिम्बुले बताए। ‘रातिको समयमा अगाडीबाट आउने ठुला गाडीहरुको लाइट आँखामा लाग्छ। यता सडकको किनार देखिँदैन। अन्दाजको भरमा सवारी चलाउनु पर्नेहुन्छ। दुर्घटना हुने जोखीम हुन्छ’ उनले भने, ‘धेरै सवारी चालक त एउटै विपरीत दिशामा मनपरी ढंगले सवारी चलाउछन्। दायाँबायाँ सडक काट्ने मान्छेहरु देखिँदैनन् जसले गर्दा दुर्घटना हुने सम्भावना हुन्छ।’ 

बत्ती नहुँदा पैदल यात्री, साइकल, मोटरसाइकल चालक र विद्युतीय रिक्सा बढी दुर्घटनाको जोखिममा छन्। ‘रातिको समयमा सडकमा मान्छे हिँडिरहेका हुन्छन्। टाढाबाट देखिँदैनन्। एकै चोटी झ्याप्प देखिन्छन्। बत्ती भए त देखिन्थ्यो नि। धेरै समस्या भइरहेको छ,’ अटो चालक जुनु चौधरीले भनिन्। सडकमा छाडा गाईगोरु तथा कुकुरहरु हुँदा ठोक्किएर दुर्घटनाको डर हुने उनले बताइन्।  मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण सुरु भएदेखि अहिलेसम्म १२ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन्। दर्जनौ घाइते भएका छन्। बत्ती नभएकै कारण रातिको समयमा दुर्घटना बढी हुने गरेको बताइएको छ। तर सडक बत्ती जडानको अन्योलता टरेको भने छैन। 

सडक बत्ती जडान गर्ने काम धनगढी उपमहानगरपालिकाको रहेको बताउँदै नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले सो काममा आफ्नो दायीत्व कर्तव्य नभएको बताए। ‘विद्युती बत्ती जडान गरे त्यसको बिल आफ्नो स्थानभित्र पर्ने स्थानीय तहले तिर्नुपर्ने हुन्छ’ उनले भने, ‘बत्ती जडानको कन्सेप्ट बनाएर विद्युतको स्विकृति लिएपछि मात्रै यो सडकमा बत्ती बाल्न पाउँछ। त्यसका लागि स्थानीय तहले बत्ती जडानका लागि निवेदन दिनुपर्ने हुन्छ।’

सडक योजना कार्यालय र विद्युत प्राधिकरणले स्थानीय तहले सडक बत्ती जडान गर्नुपर्ने दाबी गर्दै आएका छन्। तर धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकासँग मोहनापुल–अत्तरिया ६ लेन सडकमा बत्ती जडानको कुनै योजना छैन। छिट्टै बत्ती जडानको व्यवस्था गरिने धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए। ‘अहिले केही योजना केही छैन। उपमहानगरपालिकाले लगानी गरेपछि फेरि सडकले पनि टेन्डर निकाले दोहोरो हुन्छ। त्यसैले यसबारे छलफल गर्छौ’ उनले भने। 

मोहनापुल–अत्तरिया सडक योजना कार्यालय, नेपाल विद्युत प्राधिकरण र धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिकामध्ये कुन निकायले बत्ती जडान गर्ने भनेर अन्योलता देखिएको छ।  बत्ती जडानका लागि छलफल समेत भएको छैन भने सरकारी निकायसँग बत्ती जडानका लागि रकम भए/नभएको समेत खुलेको छैन। सो सडकमा सोलार बत्ती जडान गर्ने कि विद्युतीय सो विषयमा कुनै टुँगो नलागेको मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर लक्ष्मण रावलले बताए।

‘यो वर्षको बजेटमा बत्ती जडानको काम छै्। त्यसको लागि छुट्टै इस्टमेट गर्ने भनिएको छ। विद्युत प्राधिकरण र नगरपालिकासँग छलफल गरेर कुन किसिमको बत्ती जडान गर्ने भन्ने बारे निर्णय गर्छौ,’ उनले भने, ‘थप बजेटको व्यवस्था भएपछि हामी ठेक्का प्रक्रियामा जान्छौं।’
    

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस