‘सुदूरपश्चिम सरकार एक हप्ताभित्रै परिवर्तन हुनसक्छ’
धनगढी : सुदूरपश्चिमको ठूलो दल नेकपा एमालेको विभाजनसंगै सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको चर्चा चुलिएको छ। माओवादी नेतृत्वमा रहेको प्रदेश सरकार अब नेपाली काँग्रेस वा माधव नेपाल समूहको नयाँ पार्टीले नेतृत्व गर्ने जिम्मा पाउने चर्चा बढेको हो।
यता नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि सरकार परिवर्तनबारे छलफल केन्द्रीत भएको स्वीकार गरे। ‘सरकारको नेतृत्व गर्ने जिम्मा नेपाली काँग्रेसले गर्न पाउने सम्भावना पनि बलियो छ,’ उनले भने, ‘त्यो विषयमा छलफल पनि भइरहेको छ। तर निर्णय नआउँदासम्म मैले ठ्याक्कै भन्न मिल्दैन्।’
यता सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले एक हप्ताभित्रै सरकार परिवर्तन हुन सक्ने बताएका छन्। उनले भने, ‘नेकपा एमाले विभाजित भएसँगै विकसित राजनीतिक घटनाक्रमपछि सुदूरपश्चिम प्रदेश सरकार एक हप्ताभित्रै परिवर्तन हुन सक्छ।’
काँग्रेसले नेतृत्वमा सरकार बन्ने सम्भावना कति छ ? भन्ने दिनेशखबरको प्रश्नमा प्रमुख सचेतक बोहराले भने, ‘सबै कुरा सोच्दा सबै पार्टीको छलफलपछि यो निर्णय हुने हो। काँग्रेसले नेतृत्व लिनु पर्ने अवस्थामा नेतृत्व लिएर सुदूरपश्चिममा भूमिका निर्वाह गर्छ भन्ने लागेको छ। यसमा सबै पार्टीको सल्लाहमा अगाडि बढ्छौँ’
प्रदेशमा काँग्रेसले नेतृत्व नपाए सरकारमा जाने वा नजाने विषयमा भने बहस हुन बाँकी रहेको उनले बताए। यस विषयमा पार्टी नेतृत्व पनि आवश्यक छलफलमा जुटेका कारण एक हप्ताभित्रै निर्णय आउन सक्ने सम्भावना बढेको बोहराले बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सुदूरपश्चिममा काग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि आग्रह गरिसकेको बताइएको छ।
काँग्रेसको नेतृत्वमा नेकपा एमालेबाहेक माओवादी केन्द्र, माधव नेपाल समूहको नयाँ पार्टी र जनता समाजवादी पार्टीले सयुक्त सरकार बनाउने गरि केन्द्रमा छलफल भइरहेको छ। काँग्रेसका १२, माओवादी केन्द्रका १३ र जसपाका दुई जना सांसद समेत गरी २७ जनाको संख्या सरकार गठनका लागि पर्याप्त छ भने माधव नेपाल समूहको पार्टी पनि सरकारमा सहभागी हुने गरि छलफल केन्द्रीत भएको हो। विगतमा माधव समूहमा एमालेका २५ मध्ये १७ जना खुलेका थिए। काँग्रेसले नेतृत्व गरे संसदीय दलका नेता रावल मुख्यमन्त्री हुनेछन्।