मेडिकल शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बन्न गेटामा मेडिकल विश्वविद्यालय !
धनगढीः सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउन गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ। यस क्षेत्रका नागरिक अगुवाहरुले मेडिकल कलेजको सीमा क्षेत्र न्यून हुने र सञ्चालनमा झन्झटिलो हुने भएकाले मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका हुन्।
कैलालीका नागरिक अगुवा प्रमोद पाठकले गेटा मेडिकल कलेजलाई स्वायत्त बनाउनुपर्ने धारणा राखेका छन्। ‘मेडिकल कलेजको नाममा निर्माण भएका भौतिक संरचनामा मेडिकल कलेज नै सञ्चालन भए प्रदेशलाई धेरै फाइदा हुँदैन’ उनले भने, ‘प्रदेशकको समग्र विकासका लागि मेडिकल विश्वविद्यालय, नभए स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्छ।’ त्यसका लागि सरकारलाई दबाब दिन आवश्यक भएको उनले बताए।
सुदूरपश्चिमका आम नागरिकको चाहनाअनुसार संघीय सरकारले यस विषयमा निर्णय लिनुपर्ने माग अगुवाहरुको छ। चिकित्सा शिक्षामा निकै पछाडि परेको प्रदेशलाई बलियो बनाउनका लागि स्वायत्त संस्थाका रुपमा सञ्चालन गर्नुपर्ने देखिएको अगुवाहरुको तर्क छ।
मेडिकल विश्वविद्यालय भए गुणस्तरिय स्वास्थ्य सेवा लिनका लागि हजारौं नागरिकले प्रदेश बाहिर जानुपर्ने बाध्यता कम हुने इन्सेक सुदूरपश्चिमका संयोजक खडकराज जोशीले बताए। ‘गेटा मेडिकल कलेजलाई स्वयत्त नै बनाउनुपर्छ’ उनले भने, ‘सबैले सरकारलाई ध्यानाकर्षण गर्न लाग्नुपर्छ।’
संघीय सरकारले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा मेडिकल विश्वविद्यालय घोषणा गरेर सुदूरपश्चिमलाई न्याय दिनुपर्ने धारणा धेरैको छ। तर नागरिक अगुवाहरुले मोडालिटिबारे आफ्नो धारणा सार्वजनिक गरेपनि उक्त निर्णय गर्न सरकारलाई दबाब दिन भने वेवास्ता गरिरहेका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले भने गेटाको भौतिक संरचना निर्माणमा गर्दा पनि आफुहरुले महत्वपूर्ण भुमिका खेलेको बताउँछन्। ‘मेडिकल विश्वविद्यालय बनाउन पर्ने कुरा जनस्तरबाट पनि आइरहेको छ’ उनले भने, ‘यसको कैलाली उद्योग वाणिज्य संघले बुधबार भेलाको आयोजना गरेको छ। त्यसमा पनि सरकारलाई दबाब दिनका लागि छलफल हुन्छ।’