सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेज सञ्चालनबारे मौन छ सुदूरपश्चिम सरकार

२०७८ भदौ १, ०६:३१ रोशन भट्ट

धनगढी : गेटामा निर्माण भएको मेडिकल कलेज कहिलेबाट सञ्चालनमा आउछ ? यो आम सुदूरपश्चिमवासीको प्रश्न हो। विगत सात वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्नुपर्ने माग प्रदेशवासीको छ। यसकै लागि जनस्तरबाट दबाब भइरहेको छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने यस विषयमा आफ्नो धारण अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। 

संघीय सरकार मातहत निर्माण भएपनि सञ्चालनका लागि आवश्वयक छलफल तथा समन्वयन गर्न सक्ने हैसियत राख्ने प्रदेश सरकार मुकदर्शक बनेको आरोप नेपाली काँग्रेसबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तको छ। ‘यस विषयमा प्रदेश सरकार केही बोलेको छैन। प्रदेशको भूमिका अहिलेसम्म शून्य छ। अहिलेसम्म संघीय सरकारसँग छलफलसमेत गरेको छैन,’ उनले भने। 

संघीय सरकारको बजेटमा निर्माण भए पनि सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्नसक्ने भन्दै सांसदहरु नै विरोध गरिरहेका हुन्। यस विषयमा प्रदेश सरकारको धारण नआएको पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले बताए। ‘जनस्तरबाट पनि विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन्,’ उनले भने, ‘सुदूरपश्चिमवासीको सुझावलाई मनन् गर्दै संघीय सरकार एउटा निष्कर्षमा पुग्नुपर्छ।’

अहिले मेडिकल शिक्षा पढ्नका लागि सुदूरपश्चिमका विद्यार्थी प्रदेश बाहिर तथा विदेश जानु पर्ने बाध्यता छ। अर्कोतर्फ भरपर्दो अस्पतालको अभावले स्वास्थ्य सेवा पाउनबाट पनि बञ्चित हुनुपर्ने अवस्था छ। सुदूरपश्चिममा निर्माण सम्पन्न हुन लागेको गेटा मेडिकल कलेज सञ्चालनमा आएपछि स्वास्थ्य शिक्षा अध्यापनका लागि प्रदेश बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ भने उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ। 

‘संघीय सरकार र प्रदेश सरकार संयुक्त रुपमा सञ्चालन गरौं भनेर हामीले आग्रह गरेका हौं,’ सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने, ‘त्यहा अहिले हाम्रो कुनै खालको कानूनी भूमिका छैन, हामीलाई सञ्चालनको जिम्मा दिनु प¥यो भनेका छौं।’ 

मेडिकल कलेज सञ्चालनको प्रारुपबारे पनि जनस्तरबाट बहस सुरु भएको छ। अधिकांशले मेडिकल कलेजलाई प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय बनाउनु पर्ने माग गरिरहेका छन्। यसबारे पनि प्रदेश सरकार मौन छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस