गेटा मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय ? कुन मोडालिटी हुँदा के हुन्छ ?
धनगढीः कैलालीको गेटामा निर्माण सम्पन्न हुन लागेको मेडिकल कलेजलाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषयले चर्चा पाएको छ। यस क्षेत्रका विभिन्न सरोकार राख्ने व्यक्तिहरुले पनि सञ्चालनको प्रारुपबारे आफ्नो धारणा राख्न थालेका छन्।
कतिपयले मेडिकल कलेजकै रुपमा सञ्चालन गर्नुपर्ने माग गरिरहेका बेला अधिकांशको धारणा भने मेडिकल विश्वविद्यालय र प्रतिष्ठान बनाउनुपर्ने छ। दीर्घकालिन फाइदाका लागि पनि गेटालाई स्वायत्त मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन गर्न आवश्यक रहेको मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष डा. चेतराज पन्तले बताए। ‘यता विश्वविद्यालय भयो भने एबीबीएस, एमडीका साथसाथै, म्यारामेडिकलका २० भन्दा बढी विधाहरु सञ्चालन गर्न सकिने छ’ उनले भने।
गेटालाई मेडिकल कलेजको प्रारुपमा सञ्चालन गर्दा यस क्षेत्रलाई खासै फाइदा नपुग्ने धारणा राख्नेहरुको पनि कम छैन। मेडिकल कलेज भए अन्य विश्वविद्यालयको सम्बन्धन लिनुपर्ने, अर्कै कलेजको काठ्यक्रम पढाउनुपर्ने, कुनै पनि निति निर्माण गर्दा अर्कैको भर पर्नुपर्ने बाध्यता रहेको छ। यस्तै अस्पतालको श्यया थपदेखि भौतिक संरचना निर्माण, शैक्षिक कार्यक्रम सञ्चालन गर्न अर्काको भर पर्नुपर्ने हुन्छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सके यी सबै बाध्यताबाट मुक्त भइने विज्ञहरु बताउँछन्।
प्रतिष्ठानका रुपमा सञ्चालन गर्नसके आफ्नै पाठ्क्रम पढाउन पाइने, आफै नितिगत निर्णय गर्न सकिने, आफ्नो आवश्यकता अनुसार कर्मचारी आह्वान गर्न मिल्ने लगायतका फाइदाहरु रहेका छन्। दीर्घकालीन फाइदाका लागि प्रतिष्ठान बनाउनुपर्ने सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा. हेमराज पन्त बताउँछन्। ‘प्रतिष्ठान भएपछि मेडिकलका अन्य विषयहरु पनि पढाउन सकिने छ’ उनले भने।
गेटालाई मेडिकल विश्वविद्याल वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएपछि मात्रै सुदूरपश्चिमले संघीय सरकारबाट न्याय पाउने तर्क धेरैको छ। मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन भए अस्पताल सञ्चालन तथा शैक्षिक कार्यक्रम सुरु गर्नका लागि कसैको सम्बन्धन लिनुपर्ने आवश्यक हँदैन भने प्रतिष्ठान जस्तै हरेक निर्णय तथा कामहरु स्वयम् गर्नसक्ने हैसियत राख्छ। यस्तै विश्वविद्यालयले अन्य विद्यालयलाई पनि सम्बन्धन दिनुका साथै मेडिकल कलेज र प्रतिष्ठिानभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्दछ।
मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको ३ वर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाइने मापदण्ड छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल सँगै सुरु गर्न सकिने व्यवस्था छ।
तर भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा सरकार भने मौन छ।