कैलालीमा विद्यालयको जग्गा बर्षौदेखि कब्जामा
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुख्खडमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयको जग्गा विगत लामो समयदेखि भाडामा लगाइएको छ। विद्यालयले केही सटर निर्माण गरेको छ भने खाली जग्गा भाडामा लगाएको छ।
विद्यालयको जग्गा व्यवसायीक प्रयोजनको लागि भाडामा लिएर बस्दै आएकाहरु भने भाडा तिर्न वेवास्ता गरिरहेका छन्। सुखड बजारको पूर्वपट्टि रहेको करिब २ विघा बढी क्षेत्रफलमा विभिन्न व्यक्तिहरुले व्यापार गर्दै आएका छन्। सहुलियत भाडा दरमा सटर तथा खाली जग्गा उपलब्ध गराइएको भएपनि विद्यालयकै उदासिनताका कारण २ करोड भन्दा बढी भाडा रमक उठाउन बाँकी रहेको विद्यालयका शिक्षक कर्णबहादुर भण्डारीले बताए। ‘व्यापारीहरुको पनि कमजोरी देखिएको छ,’ उनले भने, ‘विद्यालयलाई आर्थिक स्रोत जुटाउन समस्या भइरहेको छ। भाडा उठेको छैन।’ सुरुवातमा विद्यालयलाई मासिक रुपमा भाडा तिर्ने सहमतीमा बसेकाहरु अहिले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन्।
विद्यालयको नाममा जग्गा धनी प्रमाण पत्र भएपनि व्यापारीहरुले भने भोगचलनको आधारमा आफ्नो भएको दाबी गर्दै आएका हुन्। विद्यालयसँग अस्थायी रुपमा खोका छाप्रा बनाएर व्यपार गर्ने सम्झौता गरेर बसेकाहरु अहिले आएर पक्की संरचना निर्माण गरिरहेका छन्।
फेरबदल भएको विद्यालय व्यवस्थापन समितिले समेत आफ्नो स्वार्थ पूरा भएपछि यस विषयमा केही नबोलेको आरोप लाग्ने गरेको छ। तर विद्यालयका प्रध्यानाध्यापक रामछविला चौधरीले भने पटकपटक ताकेता गर्दा पनि भाडा नउठेको बताए। ‘जग्गा विद्यालयको नाममा दर्ता छ,’ उनले भने, ‘केही व्यापारीहरुले आफ्नो नाममा रहेको दाबी गर्दै आएका छन्।’ विद्यालय प्रशासन तथा व्यवस्थापन समितिको उदासिनताका कारण महिनाको लाख बढी आम्दानी गुम्दै गएको छ। अहिले उक्त विद्यालयलाई आर्थिक स्रोत जुटाउन पनि निकै समस्या भइरहेको छ।
अस्थायी शिक्षकहरुलाई तलब खुवान पनि समस्या भइरहेको छ। तर खाली जग्गा तथा सटरबाट संकलन हुने भाडा रकम उठाउन विद्यालय प्रशासन, स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिको कमजोरी देखिएको छ।