क्यान्सर अस्पताल चितवनमा रिपोर्टका लागि हप्तौं कुर्नुपर्ने, बिरामीको ज्यानै जाने जोखिम
चितवनः देश भरको एक मात्रै क्यान्सर अस्पताल हो, चितवनको विपी मेमोरियल क्यान्सर अस्पताल। जहाँ देशका मात्रै नभएर छमेकी राष्ट्र भारतका क्यान्सर रोगी पनि आउने गर्छन्। उपचार त राम्रो छ तर यहाँको व्यवस्थापनमा कमजोरी, जनशक्ति अभाव, चेकजाँच रिपोर्ट ढिला आउनुका कारण बिरामीले एकदमै सास्ती खेप्नुपरिरहेको छ। एक हप्तामा बिरामीको उपचार हुनुपर्नेमा एक महिना बढी कुर्नुपरिरहेको गुनासो बिरामी कुरुवाहरूको छ।
कैलाली घोडाघोडी नगरपालिका–११ का जग्गु कठहरिया पनि डेढ महिना जति क्यान्सर अस्पतालमा बसे। फोक्सो सम्बन्धी बिरामी छाेरालाई लिएर उनी डेढ महिनाअघि अस्पताल पुगे। सुरुमा घोडाघोडी अस्पतालमा उपचार गराइरहेका उनका छाेरालाई क्यान्सरको शंका भएपछि चितवन रेफर गरिएको थियो। ‘यहाँ आएपछि हप्तौँ त पालो कुर्न मै लाग्यो। एक हप्ता बढी त बिरामीको चेकजाँचको रिपोर्ट आउनमै लाग्यो’ जग्गु कठहरियाले भने ‘डाक्टरले जे जे भन्यो त्यहि गर्दै गएँ,अप्रेसन गर्नुपर्छ भने त्यसका लागि पनि ४ दिनपछि पालो आयो।’
बिरामीको आफन्तसँग डाक्टरले सल्लाह नै नगरेर आफूअनुसार उपचार गर्ने गरेको उनको गुनासो छ। ‘डाक्टरले पनि बिरामीका आफन्तलाई बुझाइ दिनुपर्ने हो। तर त्यस्तो छै। या लैजानु, यो गर्नु मात्रै भन्छन्। के गर्ने हुन् थाहै हुँदैन’ उनले भने।
रिपोर्ट आउँदासम्म बिरामीको ज्यान गइसक्ने समेत उनी बताउँछन्। ‘मेरै बेडको छेउमा रहेका धनगढीकै एक जना २३ वर्षीय युवकको रिपोर्ट न आउँदै मृत्यु भयो। रिपोर्ट नआउँदासम्म डाक्टरले मरिगए हेरेनन्’ कठरियाले भने।
डेढ महिनाको अवधिमा रिपोर्ट नआउँदै ज्यान गुमाउने ३ जना देखेको उनी बताउँछन्। ‘मेरै आँखा अगाडि ३ जनाले रिपोर्ट नआउँदै ज्यान गुमाए। अन्य कक्षमा पनि होलान्। सबैभन्दा ढिलाई र लापरबाही रिपोर्ट ढिलो आउने छ। सरकारी अस्पताल भएर होला लापरबाही बढी छ’ उनले भने।
यस्तै घण्टौसम्म लाइन लाग्नुपरेपछि पनि बिरामीका आफन्तलाई समस्या भएको छ। टिकट काट्ने ठाउँ, बिल बुझाउने ठाउँ, रगत निकाल्ने ठाउँ, एक्सरे–भिडियो एक्सरे गर्ने ठाउँ, डाइग्नोसिस, कोरोना जाँच गर्ने ठाउँ, रिपोर्ट आउने लगायतका ठाउँमा कम्तिमा पनि ५ सय बढी जना एक पटक लाइन लागेको देख्न सकिन्छ।
तर ती ठाउँमा २ जना कर्मचारीले मात्रै काम गरिरहेको देखिन्छ। बढी भिडभाड हुने ठाउँमा जनशक्ति अलि बढी भइदिए सेवाग्राहीले पनि समयमै उपचार पाउने र सहज हुने बुटवलका चेत नारायण भट्टराइले बताए। उनी भन्छन्, ‘एक दिन बिल बुझाउन लाग्छ, अर्काे दिन रगत दिन, एक्सरे गर्न र रिपोर्ट ल्याउन मात्रै ४/५ दिन लाग्छ। बिरामीको अवस्था झन गम्भीर हुँदै जान्छ। रिपोर्ट पनि एकैपटक आउँदैन। आजै दिएको रिपोर्ट दुई/दिन लगाएर आउँछ।’
लाइन लाग्नुपर्ने ठाउँमा टोकन वा माइकिङको व्यवस्थापन भए सहज हुने घण्टौँसम्म लाइनमा उभिएकी रेनुका रानाले बताइन्। यस्तै अस्पतालमा लिप्टको समेत व्यवस्था छैन। जसकारण ह्विलचियरमा हिँड्नुपर्ने तथा गम्भीर प्रकृतिका बिरामीहरुलाई भर्याङ उक्लिन र झर्न निक्कै समस्या छ। अस्पतालमा ८ वटा मात्रै ह्विलचयर छन्। त्यसमा पनि केही बिग्रिएका छन्।