सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजको निर्माण ‘लगभग’ सकियो, सञ्चालनबारे अन्योल

२०७८ साउन १४, ०६:३० रोशन भट्ट

धनगढीः गणतन्त्र स्थापनापछि सुदूरपश्चिम प्रदेशले के पायो ? भन्दा जवाफमा गेटा मेडिकल कलेजको नाम मात्रै आउँछ होला। तर लगभग निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजको सञ्चालनको प्रारुपबारे भने अझै अन्यौलता छ। 

यसै आर्थिक वर्षभित्र अस्पताल सञ्चालन गर्ने योजना त बनाइएको छ तर मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान के हुने भन्नेबारे अझै अनिश्चत रहेको मेडिकल कलेज पूर्वाधार विकास समिति अध्यक्ष डा. चेतराज पन्तले बताए। ‘जसले मेडिकल कलेज हुनुपर्छ भनेका छन्, उनीहरुले प्रतिष्ठानको बारेमा बुझेका छैनन्,’ उनले भने, ‘त्यो बुझाउने काम हामी सबैको हो।’

मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाइने प्रावधान रहेको छ। त्यस्तै अन्य विश्वविद्यालयको सम्बन्धन लिनुपर्ने बाध्यकारी नियम छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पतालसँगै सुरु गर्न सकिने र आफैमा स्वायत्त हुने प्रावधान रहेको छ। मेडिकल कलेज भए परनिर्भर हुनपर्ने बाध्यता छ भने स्वास्थ्य विज्ञान प्रतिष्ठान भए कुनैपनि निर्णय आफै गर्न सकिने व्यवस्था छ। 

शिक्षा मन्त्रालय मातहत निर्माण भइरहेको कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष पन्तले बताए। ‘यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्छ। हामी त के भनेका छौ भने सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय छैन, गेटालाई मेडिकल विश्वविद्यालय बनाउनुपर्छ भन्ने हाम्रो माग हो। विश्वविद्यालय भएपनि स्वास्थ्यका १५ बढी कार्यक्रमहरु सञ्चालन गर्न सक्छौं’ पन्तले भने। 

सञ्चालनको मोडालिटीबारे संघीय स्वास्थ्य र शिक्षा मन्त्रालयमा पटकपटक छलफल भएपनि ठोस निर्णय भने हुन सकेको छैन। शिक्षा मन्त्रालयले मेडिकल कलेज तथा स्वास्थ्यले प्रतिष्ठान बनाउनु पर्नेमा जोड दिने गरेको चर्चासमेत हुँदै आएको छ। निर्माणाधिन कलेजको भविष्य तथा स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रतिष्ठान तथा मेडिकल विश्वविद्यालय बनाउनमा सरकारले ध्यान दिनुपर्ने माग गरिएको छ। 

सरकारी स्तरबाट भने अहिलेसम्म पनि सञ्चालनको मोडालिटीबारे टुङ्गो लाग्न नसकेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए। ‘हामी संरचना निर्माणको काममा लागेको छौं,’ उनले भने, ‘सञ्चालनको प्रारुवबारे अहिले छलफल भएको छैन।’ अस्पताल भने यसै आर्थिक वर्ष भित्र सञ्चलन गर्ने उनले बताए। 

मेडिकल कलेजको भौतिक संरचनाको काम ९ वटा प्याकेजमा भइरहेको छ। तीन प्याकेजको काम भने लगभग सकिएको छ। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस