गौरीफन्टा नाका पुगेपछि यसरी विफल बन्यो प्रेमिकालाई बेच्ने विवाहित प्रेमीको योजना
धनगढीः साउन ८ गते बिहेको प्रलोभनमा परी एक किशोरी पुरुषसँग त्रिनगर गौरीफन्टा सीमानाकाबाट भारत गइरहेकी थिइन्। तर उनलाई आफू बेचिन गइरहेको भन्ने थाहा थिएन। दुबैजना एउटै गाउँका थिए। तर सीमा नाकामा नाता प्रमाण नभेटिएपछि शान्ति पुर्नस्थापना गृह कैलालीले दुवै जनालाई नियन्त्रणमा लियो। ती पुरुष पहिले नै विवाहित रहेको बताइएको छ। भने, उनको एक छोरा पनि छन्।
दुवै जना दाजुबहिनीको नाता लगाएर भारत पसिरहेका थिए। तर सो नाता प्रमाणित नभएपछि पुर्नस्थापना गृहले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। अहिले ती पुरुष जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा छन्। किशोरीलाई भने शान्ति पुर्नस्थापना गृह कैलालीमा राखिएको छ।
यसरी फसाइएको थियो किशोरीलाई
ती किशोरी ९ कक्षामा पढ्छिन्। ५/६ महिनादेखि गाउँकै पुरुषसँग उनको फोनसम्पर्क हुन्थ्यो। कुराकारी गर्दै जाँदा उनीहरु विवाह गर्ने योजनामा पुगे। ती पुरुष ट्याक्टर चालक थिए।
आफ्नो विगत सुनाउँदै किशोरले भनिन्, ‘मलाई उसले सधैँ फोन गरिरहन्थ्यो। म पनि सामान्य रुपमा कुरा गर्थे। मलाई उसँग बिहे गर्ने इच्छा थिएन। उसले नै बिहे गरौं भनेर करकाप गथ्र्यो।’
ती पुरुषले बिह नगरेमा आत्महत्या गर्ने भन्दै धम्काउने गरेको उनी बताउँछिन्। ‘मैले फोन नगर तपाईको घरमा छोरा छ, श्रीमती छ भन्दापनि मसँग बिहे नगरे तिम्रो नाममा पासो लगाएर आत्महत्या गर्छु भन्थ्यो। तर घरमा कसरी भन्ने डर लागिरहेको थियो। इज्जतको पनि डर थियो’ उनले भनिन्, ‘मलाई धेरै तनाव र दबाब दिन थाल्यो। आमाबुवाको बदनाम हुनुभन्दा गल्ती गरिहाले ठिकै छ गइदिउँ भनेर उसँग आएँ।’
साउन ५ गते उनीहरु घरबाट भागेर आएका थिए। बैतडीबाट बस चढेका उनीहरु ६ गते बिहान धनगढी आइपुगे। दुईदिनसम्म उनीहरु धनगढीकै एउटा होटलमा बसे। सीमाबाट कसरी पस्ने भनेर उनीहरुले होटलमै बसेर योजना बनाएका थिए। किशोरी भन्छिन्, ‘दाई हो भन्नु। म बहिनी हो भनौँला भनेर सिकायो। अनि त्यसै गरेर हामी सीमा पुग्यौँ। सिमामा चेकजाँचका क्रममा हामीलाई थुनियो।’
जब पुरुष पक्राउ परे बल्ल ती किशोरीले आफूलाई बेच्न लगीरहेको थाहा पाइन्। ‘बिहे गरौँ भनेर मलाई धेरै दिक्क लगाएको थियो। तर प्रहरीलाई ती पुरुषले आफुलाई दिक्क लगाएकाले साइड लगाउन लगेको भन्ने बयान दिएका रहेछन्’ उनले भनिन्, ‘मैले नै उसलाई बिहे गर्न सताए भनेर साइड लगाउने भन्दै ल्याएको थियो। मैले त उसलाई बिहे नगर्ने नै भनेको थिए तर मलाई नै गलत आरोप लगायो।’
किशोरीलाई अझै पनि ती पुरुषको डर छ। ‘‘मलाई त डर लागिरहेको छ। प्रहरीले पक्राउ गर्दा ‘एक दुई दिनमै छुटिहाल्छु। तिम्रो के गर्छु मलाई थाहा छ’ भन्दै धम्की दियो’’ उनले भनिन्। आमाबुवाको भनेको नटेर्दा आफू पछुताइरहेको किशोरीले बताइन्।
प्रलोभनमा पारेर फसाइन्छ किशोरी तथा युवतीलाई
शान्ति पुर्नस्थापना गृह कैलालीका अनुसार धेरै नेपाली किशोरीलाई विवाह गर्ने तथा जागिर लगाइदिने प्रलोभन देखाएर भारत लगिने गरेको छ।
भागेर आउनेहरु बढीजसो दाजुबहिनीको नाता लगाएर आउने गरेको शान्ति पुर्नस्थापना गृह कैलालीकी कर्मचारी पार्वती चौधरीले बताइन्। ‘धेरै जना दाईबहिनीको नाता लगाएर भारत जान्छन्। तर उनीहरुसँग प्रमाण हुँदैन। घरमा फोन गर्न भन्दा फोन गर्न पनि मान्दैनन्’ उनले भनिन्।
प्रलोभनमा परेकाकाहरु आफु ठगिएको भन्नेबारे पक्राउ परेपछि मात्रै थाहा पाउने गरेको चौधरीले बताइन्।