सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी यातायातमा बिचौलियाको बिगबिगी, १३ सय लाग्ने काममा १५ हजार असुली

२०७८ साउन १२, ०६:५३ रोशन भट्ट

धनगढीः यातायात कार्यालयमा आर्थिक चलखेलबीना कुनैपनि काम हुँदैन भन्ने गुनासो नौलो होइन। कर्मचारीसँगै उक्त कार्यालयको सेवासँग जोडिएका व्यक्तिहरु अधिकांश सेवाग्राहीसँग विभिन्न बहानमा आर्थिक असुली गर्दै आएका छन्। यस्तै यातायात व्यवस्था कार्यालयको अर्को बद्मासी बाहिर आएको छ। 

यातायात कार्यालय धनगढीमा ट्याक्टरको ट्रली जोड्ने अनुमति लिँदा बुझाउनुपर्ने राजश्वको १० गुणा बढी असुली भइरहेको छ। त्यसका लागि बिचौली मोलमोलाई नै गर्छन्। 

ट्याक्टर खरिद गरेपछि ट्याक्टर साहुसँग अगाडिको भागको मात्रै कागजपत्र हुन्छ। सामान बोक्ने पछाडिको भाग अर्थात ट्रली जडान गर्नका यातायात कार्यालयको अनुमति आवश्यक हुन्छ। यातायात कार्यालय र यातायात विभागको स्वीकृती प्राप्त भएपछि मात्रै वर्कसपले ट्रली बिक्री गर्न पाउने व्यवस्था छ। 

ट्रली सञ्चालनको अनुमति लिनका लागि यातायात कार्यालयमा १३ सय राजश्व बुझाउनु पर्ने नियम छ। तर बिचौलियाको सिकार बन्ने सेवाग्राही तथा ट्याक्टर साहुहरु भने उक्त अनुमति लिनका लागि १५ हजारभन्दा बढी रकम तिर्न बाध्य भएका छन्। 

१३ सय रकम यातायात कार्यालयले राजश्ववाफत पाउँछ भने बाँकी रकम बिचौलीया र कर्मचारीको गोजीमा जाने गरेको यतायात कार्यालयमा भेटिएका एक जना सेवाग्राही करनसिंह रानाले बताए। ‘ट्रली जडानको १५/१६ हजार लाग्छ,’ उनले भने, ‘बिमा र कर तिरेको २५/२६ हजार जान्छ।’

सम्पूर्ण प्रक्रिया पूरा गरेर अनुमति लिन यातायात कार्यालय पुग्ने सेवाग्राही बिचौलियाको फन्दामा पर्न थालेपछि मारमा परेका छन्। कार्यालयभित्रको काम समेत बिचौलीयाले नै गर्ने भएपछि अधिकांश सेवाग्राही लुटिन बाध्य छन्। बिचौलीयाले असुलेको रकम कर्मचारीसम्म पनि पुग्ने गरेको छ। ‘प्रायःजसो सेवाग्राहीहरु कम्पनीसँग नै आउछन्, कम्पनीहरुले पनि सेवाग्राहीहरुलाई सहयोग गरिरहेका हुन्छन्,’ यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले भने, ‘बाहिर के–के हुन्छ कोसँग डिलिङ हुन्छ त्यो हामीलाई थाहा हुँदैन।’ कर्मचारीलाई पनि उनीहरुबाट कमिसन आउँछ भन्ने कुरा आफुलाई थाहा नभएको प्रमुख शाहले दाबी गरे। 

एक आर्थिक वर्षमा झण्डै २ सय ट्याक्टरले ट्रली जडानको अनुमति लिने गरेका छन्। यो तथ्याङकलाई आधार बनाउँदा बिचौलीयाले ट्रली जडान गर्दा ३० लाख भन्दा बढी असुली गर्दै आएका छन्। यस्तै सवारी जाँचपास, दर्ता, कागजात नविकरण लगायत अन्य कामले यातायात कार्यालय पुग्नेहरु पनि यसरी नै लुटिने गरेको गुनासो आइरहन्छन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस