धनगढीका सामुदायिक कुकुरको हेरचाहकर्ता
![](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/ritika%20and%20subham.jpg?itok=gWp5jaSw)
पदमराज जोशी, धनगढी: साउन ६ गतेको दिन प्रभात विमर्शमा धनगढी वरिपरि छाडा छाडिएका कुकुर लगायतका जनावरहरुको क्षेत्रमा काम गरिरहेका रितीका गुरुङ र शुभम पनेरुसँग विमर्श गर्ने अवसर जुर्यो।
एक दिन अगाडि रितीकालाई कार्यक्रममा अभियानको विषयमा थोरै कुराकानी गरौं भनेर फोन गरेँ। उनी थोरै अकमकाइन्। उनले ‘तपाईलाई म आधा घण्टामा फोन गर्छु नि भनेपछि’ हाम्रो सम्वाद टुंगिन पुग्यो। केही समयपछि हामी फेरि म्यासेजमा कुराकानी गर्न पुग्यौं। उनले ‘हाम्रो टिमनै आउन मिल्छ नि ?’ भनेर प्रश्न गरेकी रहेछिन्। दुई जनासम्म हुन्छ मैले पनि जवाफ फर्काए। र, तपाईंहरु को–को आउने हो ? फोटो र विवरण मलाई पठाई दिन भन्ने भावको म्यासेज पठाए। उनले पनि शुभम भाई र म आउने भनेर दुई–दुई वटा फोटो पठाइन्। मैले पोस्टर बनाइहाले र अप्लोड गरिहाले।
कार्यक्रममा लाइभ बस्नको लागि हामी तयार भयौं। रितीकाको एउटा प्रश्न आयो, ‘पहिलो दिन हो के गर्ने होला केही बिग्रीने त होइन कि ?’ शुभम जि र म दुवैले भन्यौ ‘त्यति ठुलो काम त गरिरहनु भएको छ। जाबो बोल्न डराउनुहुन्छ ?’ उनी मौन बसिन्। र कार्यक्रम सुरु गर्यौ। पहिलो प्रश्न म जहिले पनि सकेसम्म व्यक्तिगत संघर्षलाई जान्ने हेतुले नै राख्ने गर्छु। उनीहरुलाई पनि जनावरको क्षेत्रमा काम गर्ने सोच कसरी आयो भन्ने नै प्रश्नबाटै सुरु गरे।
दुवै जनालाई राखिएको प्रश्नमा एउटै निष्कर्ष निस्कने किसिमको जवाफ आयो। 'छोडिएका घाइते कुकुर सडकमा बेवारिसे भएर मर्नेसम्मको स्थिति देख्यौं। सानैदेखि कुकुर मन पराउने। जनावरसँग खेल्न मन पराउने भएर होला केही न केही गरौ भन्ने भयो। र, हामीले सक्ने जति प्रयास गरौं भनेर लाग्यौं। दिदी २/३ वर्ष पहिलेदेखि काम गर्दै आइरहनुभएको थियो म भने ५/६ महिना भयो उहाँलाई सहयोग गरिरहेको छु’ शुभमले भने।
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
रितीकाले केही थप्दै भनिन् ‘मान्छेलाई त मान्छेले नै हेर्छ दुर्घटनामा पर्ने बित्तिकै पनि अस्पताल पुर्याइन्छ। मृत्यु नै भएको छ भने पनि मृत शरीरलाई समेत व्यवस्थापन गरिन्छ। रोडमा दुर्घटनामा परेको जनावरलाई छुनुसम्म हुन्न। घिन मान्ने हुन्छ। जनावरको शवलाई कयौं दिनसम्म पनि सडकमा रहन दिने। गनहाउने दिने। नगरपालिका समेत न आउने गरेको देखेपछि यसक्षेत्रमा काम गर्नुपर्छ भन्ने लाग्यो।’
एक पटक उद्दार गरेको कुरा सम्झिदै रितिकाले भन्दै थिइन्, ‘एक जना बृद्ध मान्छे सानो भर्खरै जन्मेको कुकुरको बच्चालाई खोलामा फाल्नको लागि जाँदै हुनुहुन्थ्यो। हामी पनि मृत कुकुरलाई गाड्नको लागि गएका थियौँ। उहाँलाई किन यस्तो गर्दै हुनुहुन्छ भन्दा उहाँले पछि ठुलो भएपछि रोडमा जान्छ त्यहीँ कुल्चिन्छ त्यो भन्दा राम्रो त बरु आँखा नखुलीकनै खोलामा बगाइदियो भने पाप त लाग्दैन भनेर भन्नुभयो। पछि हामीले त्यो बच्चालाई उद्दार गरेर ल्यायौं र सुईबाट दुध खुवाएर हुर्कायौ। यस्तोसम्म दयनीय स्थिति हाम्रो समाजको छ।’
फेरि उनीलाई नै पहिलो चोटी कुकुर उद्वार गर्दाको घटना सम्झना गर्नुहुन्छ कि भन्दा सोच्दै भनिन्, ‘एउटा सानो कुकुरको बच्चा जो पानीमा भिजेर १०५ डिग्री जरो आएर बिरामी भएको थियो। त्यसलाई नै पहिलो उदार मान्नुपर्छ। ‘स्ट्रीट पअज’ नामक संस्था स्थापना पछिको पहिलो उद्दार त्यहीँ बच्चाको उद्दारनै हो।’
उद्दार गर्दादेखि व्यवस्थापन गर्नसम्म सधै पैसाको आवश्यकता पर्छ। खाना उपचार र अन्य खर्चहरु सबैको व्यवस्थापन चुनौतीपूर्ण नै हुन्छ। यसलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ? प्रश्न गर्दा रितीकाले जवाफ दिदै भनिन्, ‘उद्दार भैसकेपछि उद्दार कक्षामा लिएर आउछौ। र त्यसपछि कसैले ‘एडप्ट’ गर्न चाहानुभयो भने दिन्छौ। तर सर्तहरू छन् केही। त्यसमा हस्ताक्षर गराएर मात्रै। त्यसपछि पनि हामी समय समयमा खबर लिइराख्छौ जानकारी राखीराख्छौ।’
उनले अनुगमन गर्न जाँदाको अनुभव पनि थप्दै भनिन्, ‘धेरै जसोले त परिवारकै सदस्यलाई जस्तै गरेर पालेको पनि देख्यौं तर एक चोटी एकजनाले प्लास्टिकको रसीले घाटी कसिलो हुनेगरि बाधेको देख्यौं। र, पहिला भन्दा एकदम दुब्लाएको पायौं। त्यसपछि जसले लगेर जानुभएको थियो उहाँसँग कुरा गरेर हामीले फेरि त्यसलाई फिर्ता लिएर आयौं।’
शुभमले एउटा उद्दार गर्दैको घटना सुनाउदै समाजलाई एउटा सिक्काको उदाहरण दिएर प्रस्टै पारे, ‘समाजमा पुच्छर पनि हुन्छ र टाउको पनि यसलाई अन्यथा लिनुहुन्न। एउटा अस्तिको घटना मात्रै हो एउटा कुकुरको बच्चा दुई घरको बिचमा गएर अड्किन पुग्यो। हामीलाई जानकारी भयो र हामी त्यहाँ पुग्यौं। घरको भित्ता फोड्नुबाहेक त्यहाँ अर्को विकल्प थिएन। घरमालिकालाई मनाएर हामीले त्यो पनि गर्यौ। त्यहाँ पनि दुई थरिकै मान्छे थिए कोही किन फोड्नुपर्यो भन्ने र कोहि राम्रै हो फेरि भित्ता त जोड्न मिल्छ नि भन्ने।’
आर्थिक पाटोको विषयमा पनि शुभमले नै कुरा सनाए। उनले भने, ‘सुरुवातमा त पुरै आफै दिदीले नै खर्च गर्नुभयो तर पछिल्लो समय औषधिका लागि जुन खुबै महँगो पनि पर्न जान्छ। त्यो चाहि महेन्द्रनगरमा एउटा संस्था छ त्यसले सहयोग गर्छ। भने, अरु खर्चको लागि सानोतिनो देश विदेशबाट सहयोग आइरहन्छन्। र, हामीले सक्नेजति हामी पनि खर्च गरिरहेका हुन्छौं।
कसैले तपाईसँग मिलेर काम गर्न चाहनुभयो भने कसरी जोडिनु हुन्छ ? प्रश्नको जवाफ दिदै रितीकाले नै भनिन्, ‘जोडिनको लागि मात्रै जोडिनुको अर्थ छैन। तपाइँ जनावरलाई छुन नै रुचाउनुहुन्न भने समाज सेवाका अन्य पाटो पनि छन्। त्यहाँबाट पनि गर्न सक्नुहुन्छ। अहिले हामी ७ जना मात्रै संस्थाको समितिमा छौं। सदस्य केही बढी छन्। तर संस्थाको सुरुवातमा सदस्यता धेरैले नै लिनुभयो। काम गर्न पनि चाहानुभयो। अभियान गर्दा पनि चट्किलो राम्रो देखिने सफा कुकुरकै सेवा गर्न जोड दिनुभयो। त्यसैले भनेको जोडिनको लागि मात्रै न जोडिएको राम्रो हुन्छ।’