धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा साढे २ करोड खर्च, उपलब्धी शून्य जस्तै
धनगढी: धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा पनि साढे २ करोड बजेट सकिएको छ। विगतका वर्षहरुमा पनि करोडभन्दा बढी बजेट खर्च गरेको धनगढी उप–महानगरपालिकाले रोजगार कार्यक्रम कार्यान्वयन गर्न यो वर्ष पनि २ करोड ६६ लाख बजेट खर्च गरेको हो।
वडा स्तरबाट छनोट भइ आएका योजनाहरु कार्यान्वयन भएपनि प्रभावकारिता भने देखिएको छैन। १९ वटा वडा भएको उप–महानगरपालिकामा यस वर्ष २६ वटा योजनाहरु सञ्चालन भएका थिए। २१ योजनाले पूर्णता पाएको दावी गरिएपनि काम भने झारो टार्ने भएको धनगढी तारानगरकी स्थानीय डम्मरी भट्टले बताइन्।
‘यो कार्यक्रम जनताको हितमा भने कुनै अर्थमा पनि छैन’ उनले भनिन, ‘यस वर्ष पनि २ करोड भन्दा बढी खर्च गरेर विकास गर्नुको सट्टा भएका भएका बाटाहरु पनि बिगार्ने काम भएका छन्।’ आयस्तर कमजोर भएकाहरुलाई एक सय दिनसम्म रोजगार दिने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा आएपनि प्रभावकारिता नदेखिएको उनले बताइन्।
एक सय दिनको रोजगारीका लागि धनगढीका २६ सय जनाले आवेदन दिएका थिए। रोजगार कार्यक्रमको मापदण्ड अनुसार उक्त आवेदनहरुबाट प्राथमिकता क्रममा साढे ६ सय जना छनोटमा परेका थिए। चालू वर्षका २६ योजनाहरुमा ३ लाखदेखि १५ लाखसम्म बजेट परेको थियो। उक्त बजेटमा पनि विगतकै वर्ष जस्तै नाली निर्माण गर्ने, सडक बिस्तार तथा मर्मत गर्ने, खानेपानीका पाइपलाइन बिस्तार गर्ने काम मात्रै भएको छ।
चालू वर्षमा केही योजनाहरु साझेदारीमा कार्यान्वयन भएका कारण विगतको भन्दा यस वर्ष काम राम्रो भएको दाबी गरिएको छ। कार्यविधिमा नै ठूला उपकरण प्रयोग गर्न नपाइने उल्लेख गरेका कारण स–साना योजनामा काम गर्नुपरेको बताइएको छ।
तर दिर्घकालिन रुपमा फाइदा पुग्ने योजनाहरुमा पनि काम भएको धनगढी उप–महानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए।‘विगतका वर्षहरुमा केही योजनाहरु फाइदा नपुग्ने खाले थिए’ उनले भने, ‘यसवर्ष भने साझेदारीमा काम गर्दा पक्की नाली समेत निर्माण भएका छन्।’
धनगढीको वडा नम्बर २ र ३ मा भने यस वर्ष उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन। योजनाहरुको सम्झौता भएपनि समय अभावका कारण काम गर्न नसकिएको बताइएको छ।