सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निषेधाज्ञा जारी भएको ३८ दिन पूरा, संक्रमण दरमा अपेक्षित कमी आएन

२०७८ जेठ २२, ०९:०७ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग अर्थात् सम्पर्क खोजी नहुँदा कोरोना संक्रमणको दरमा अपेक्षित कमी आउन सकेको छैन। 

प्रदेशमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको ३८ दिन पूरा भएको छ। तर संक्रमणको दरमा भने खासै कमी आउन नसकेको हो। 

सुदूरपश्चिम प्रदेशमा वैशाख १६ गतेदेखि निरन्तर रूपमा निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरसको संक्रमण दर असामान्य रूपमा बढ्न थालेपछि प्रदेशका सबै जिल्लाहरूमा निषेधाज्ञा लागु गरिएको हो। तर अपेक्षाकृत रूपमा संक्रमणको दरमा कमी आएको पाइएको छैन। 

निषेधाज्ञा जारी भएको पहिलो साता प्रदेशमा संक्रमण दर ४० प्रतिशत रहेको थियो भने, एक महिनाको अवधिमा गत साता संक्रमण दर ३० प्रतिशतमा झरेको छ। निषेधाज्ञाले संक्रमण दर १० प्रतिशतले तल झरेको छ। 
तर कोरोना भाइरस समुदाय स्तरमै फैलिसकेकाले संक्रमण दरलाई शुन्यमा झार्न निषेधाज्ञासँगै कन्ट्याक्ट ट्रेसिङ्ग अर्थात् सम्पर्क खोजी गरिनुपर्ने चिकित्सकहरूको भनाइ छ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख, डाक्टर शेरबहादुर कमरले सम्पर्क खोजी नगरिँदा कोरोना नियन्यत्रणका लागि जारी निषेधाज्ञा निष्प्रभावी देखिएको बताए। 
'निषेधाज्ञा सुरू भएदेखि संक्रमण दरमा केही कमी आएको छ।' उनले भने, 'अहिले अस्पतालमा नयाँ भर्ना हुने संक्रमितको संख्या पनि कम भएको छ। तर झण्डै डेढ महिनामा जति नियन्त्रण हुनुपर्ने त्यो हुन सकेको छैन।'

जारी निषेधाज्ञाले पछिल्लो डेढ महिनादेखि बजार, होटल व्यवसाय र यातायातलगायत सम्पूर्ण क्षेत्र पूर्ण रूपमा ठप्प छन्। 

योसँगै व्यवसायी र मजदुर वर्गहरू आर्थिक रूपले मारमा पर्न थालेका छन्। कोरोना भाइरसको दोस्रो लहर फैलिएदेखि नै भारतबाट नेपाल फर्किने नेपालहरूको क्रम पनि जारी छ। तर सीमानाकामा प्रभावकारी जाँच हुन सकेको छैन भने, संक्रमित देखिएकाहरू पनि होम आइसोलेशनको नाममा सोझै घर जानेको गरेका छन्। 

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने, पोजेटिभ आए आसोलेशनमा राख्नेलगायतका काम नगर्ने तर व्यवसायहरू मात्र ठप्प पार्नाले कोरोना नियन्त्रण नहुने तर्क गरे। 

कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको सबैभन्दा बढी मारमा मजदूर वर्ग परेका छन्। डकर्मी मजदुर संघका संस्थापक अध्यक्ष जगवीर चौधरीले काम गर्ने वातावरण नहुँदा मजदुर वर्गलाई दुइ छाकको जोहो गर्नै समस्या हुन थालेको बताए। 

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। 
कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन बढिभन्दा बढि परीक्षण गर्ने, सम्पर्क खोजी गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्ने जस्ता व्यवहारको अनिवार्य पालना गर्नुपर्ने हुन्छ। तर सम्बन्धित निकायहरूले अझै यस विषयमा ध्यान दिन सकेको छैन।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस