सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा वैशाख महिनामा १४ सय बालबालिका कोरोनाले प्रभावित, कसरी जोगाउने ?

२०७८ जेठ ९, ०७:३१ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा संक्रमित हुने बालबालिकाको संख्या पनि उच्च रहेको पाइएको छ। 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार वैशाख महिनामा पीसीआर परीक्षणबाट कुल १४ हजार ९ सय ४५ जना संक्रमित थपिएकोमा १९ वर्षमुनिका मात्र १ हजार ४ सय ३४ बालबालिकामा संक्रमण पुस्टि भएको छ। 
नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलिएपछि अहिले बालबालिकाहरूको संक्रमित हुने दर पछिल्लो वर्षको तुलनामा बढेको पाइएको हो। 

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको देखिएको छ। 

स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा ४ वर्षसम्मका १२५ जना, ५ वर्षदेखि ९ वर्षसम्मका २०४ जना, १० वर्षदेखि १४ वर्षसम्मका ३४५ जना र १५ वर्षदेखि १९ वर्षसम्मका ७६० जनामा कोरोना पुस्टि भएको छ। 

कञ्चनपुरको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बालबालिकाहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले संक्रमण बढी देखिएको हुन सक्ने बताए। 

कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाहरूको संख्या बढ्ने क्रममा रहेपनि हालसम्म अस्पतालमै पुर्‍याउनु परेका बालबालिकाहरूको संख्या भने निकै थोरै रहेको उनको भनाइ छ। 

पछिल्लो एक महिनामा अछाम जिल्लामा १९ वर्षमूनिका १६१ बालबालिका संक्रमित भएका छन्। त्यस्तै बैतडीमा २१२ जना, बझाङ्गमा १२८ जना, बाजुरामा ९ जना, डडेल्धुरामा ७४ जना, दार्चुलामा १५ जना, डोटीमा ५७ जना, कैलालीमा ६२६ जना र कञ्चनपुरमा १५९ जना बालबालिका कोरोना भाइरसबाट संक्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनामा ९ वर्षमूनिका ३२९ बालबालिका संक्रमित भएका छन्। 

यसरी जोगाउन सकिन्छ
यो उमेर समूहका बालबालिकाहरूले बोलेर आफ्नो समस्या अभिभावकलाई भन्न नसक्ने भएकाले अभिभावकले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। 

धनगढीको माया मेट्रो अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउँदले बच्चालाई ज्वरो आएमा, रूघाखोकी लागेमा, राम्रोसँग खाना नखाएमा, सास फेर्न समस्या भएमा र पखाला लागेमा चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गराई उपचार थाल्नुपर्ने बताए। 

नेपालमा हाल कोरोना भाइरसको यूके भेरिएन्ट देखा परेको सरकारले जनाएको छ। यो भाइरसले कम उमेरका मानिसहरूलाई बढी असर गर्ने पनि पुस्टि भइसकेको छ। 

त्यसैले बालबालिकालाई कोरोना संक्रमण र मृत्यु हुनबाट जोगाउन बालबालिकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन जरूरी छ। 
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस