सेती अस्पताल ग्राउण्ड जीरोः इमर्जेन्सी वार्डमा छटपटाउँदै संक्रमित, डक्टर नपाएको गुनासो(भिडियोसहित)
धनगढी: सेती प्रादेशिक अस्पताल धनगढीको इमर्जेन्सी वार्ड कोरोना संक्रमितका बिरामीहरुले भरिएको छ।
वार्डमा बिरामीहरु छटपटाइरहेको कारुणिक दृश्यहरु देख्न सकिन्छ। एउटै बेडमा २/२ जना बिरामीलाई राखिएको छ। वार्डको भुँइमा समेत खाली ठाउँ छैन भने वार्ड बाहिर टेन्ट टाँगेर र खुल्ला ठाउँमा पनि बेन्च र कुर्सीहरुमा बिरामीको उपचार भइरहेको छ।
उसो त कोरोना संक्रमित बिरामीलाई कोरोना अस्थायी अस्पतालमा राखिएको छ। तर त्यहाँ नअटेपछि इमर्जेन्सी वार्डमा पनि राखिएको हो। उनीहरुलाई कोरोना संक्रमितलाई दिइने औषधि चलाइएको छ। बेड नभएर सेती प्रादेशिक अस्पतालले धेरैलाई त रेफर पनि गरेको छ।
अस्पतालमा अक्सिजनको अभाव त छँदै छ, त्यसमाथी डक्टरहरुले बिरामीहरुको अवस्था हेर्न नआउने गरेको गुनासो बढेको छ। बिरामी हेर्न आउनु त कहाँ हो कहाँ ? पर्चा समेत नहेरिदिने गरेको बिरामीका कुरुवाहरुले गुनासो गरेका छन्।
एक जना बिरामी कुरुवाले नाम नखुलाउने सर्तमा भने, ‘बिरामीलाई गाह्रो हुँदा डक्टरको खुट्टा ढोग्नुपर्ने, हात जोर्नुपर्ने अवस्था छ। नर्सहरु त आउँछन अन्य डक्टर पनि आउँछन् तर छाती, घाँटी सम्बन्धिका ठुला डक्टरहरु आउँदै आउँदैनन्।’ बिरामीको नहेरेपनि टिकट हेरेर औषधि लेखिदिनुपर्ने उनले बताए।
बिरामीलाई गाह्रो भएपछि डाक्टर बोलाउन जाँदा झन अभद्र तरिकाले हप्काउने गरेको बिरामी कुरुवाहरुले गुनासो गरेका छन्। त्यसमाथि झन अस्पतालमा मृत्यु भएकाहरुको शव व्यवस्थापन समयमा नहुँदा उपचाररत अन्य बिरामीलाई मनोवैज्ञानिक असर पर्ने चिन्ता थपिएको छ।
‘सँगै रहेका मृतको शव उठाउँदै उठाउँदैनन्’ अर्का बिरामी कुरुवाले भने, ‘कम्तीमा ३/४ जनाको मृत्यु नहुँदासम्म ती शव बेडमै रहन्छन।् त्यसले त अर्को बिरामीलाई पनि असर पर्छ नि ?’ अलि अवस्था ठिक हुन लागेकाहरुले पनि त्यस्तो अवस्था देख्दा मनोबल कमजोर हुने अवस्था रहेको उनको भनाई छ।
त्यसकारण डक्टरहरुले बिरामीहरुलाई हासला र शान्त्वना दिए तथा सयसमयमा आएर चेकजाँच गरिदिए बिरामीहरुको मनोबल बढ्ने उनीहरुको अपेक्षा छ।
अस्पतालले बिरामीको मनोबल उच्च बनाउन बिरामीहरुको समय समयमा हेरचाह गर्नुपर्ने देखिन्छ भने उनीहरुसँग राम्रो व्यवहार गर्न आवश्यक छ।
यस्तै अन्य उपचाररत बिरामीलाई मनोवैज्ञानिक असर नपर्ने गरी अस्पतालमा ज्यान गुमाउनेहरुको शव व्यवस्थापनमा ध्यान दिन जरुरी देखिन्छ।