सुदूरपश्चिममा यो हप्ता १२४३ जनालाई कोरोना, १६८ जना निको भए, ३३ जनाको मृत्यु
धनगढी: सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक हप्ताको अवधिमा १ हजार २ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा गत बैशाख ११ गते शनिबार ११० जना संक्रमित फेला परेका थिए।
यस्तै १२ गते आइतबार ५७ जना, सोमबार ६७ जना, मंगलबार २८३ जना, बुधबार २८९ जना, यस्तै बिहीबार २४६ जना र शुक्रबार १९१ जना संक्रमित फेला परेको निर्देशनालयले जानकारी दिएको छ।
यस्तै सोही एक हप्ताको अवधिमा १६८ जना संक्रमितले कोरानालाई परास्त्र गरेका छन्। प्रदेशको ९ वटै जिल्लाको तथ्यांकका आधारका गत शनिबार ४७ जना संक्रमितले कोरोना जितेका थिए।
यस्तै आइतबार ८ जनाले, सोमबार १९ जनाले, मंगलबार ३१ जना, बुधबार २१ जना, बिहीबार २३ जना र शुक्रबार १८ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।
हालसम्म १५ हजार ९ सय १२ जनालाई कोरोना संक्रमण भएको छ। ती मध्ये १४ हजार २ सय ७५ जना निको भइ घर फर्किएका छन्।
यस्तै शुक्रबारसम्म प्रदेशभर रहेका अस्पतालका आइसियूमा २२ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा ९ जना उपचाररत छन्।
यो हप्ता प्रदेशभर कोरोना संक्रमणका कारण ३३ जनाले ज्यान गुमाएका छन्। ती मध्ये कैलालीका १४ जना, कञ्चनपुरका १३ जना, अछामका २ जना रहेका छन्।
त्यस्तै डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाका १/१ जना संक्रमितले पनि ज्यान गुमाएका छन्।
हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ७४ जनाको मुत्यु भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। ती मध्ये धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको छ।