सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएपनि अन्य पूर्वतयारी फितलो

२०७८ वैशाख १६, ०१:३६ सरेन जैरू

धनगढीः कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएपनि अन्य पूर्वतयारी नगरिएको पाइएको छ।

कोरोना संक्रमणको चेन तोड्न लकाउनसँगै बढीभन्दा बढी परीक्षण गर्नुपर्ने, सीमानाकाबाट भित्रिने सबैको परीक्षण गरिनुपर्ने, कम्तिमा १० दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा राखेर परीक्षण गरिसकेपछि मात्रै घर पठाउनुपर्ने हुन्छ। तर त्यसो नगरिएको पाइएको हो। 

नाकामा होल्डिङ्ग सेन्टर र स्थानीय स्तरमा आइसोलेशनको उचित व्यस्थापन नहुँदा जारी निषेधाज्ञा निष्प्रभावी हुने देखिएको छ। 

कैलाली र कञ्चनपुरमा बिहिबारदेखि निषेधाज्ञा जारी गरिएको छ। तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस संक्रमणको चेन तोड्न जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले (वैशाख १६ गते) बिहिबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा जारी गरिएपनि अन्य पूर्वतयारी भने नगरिएको पाइएको छ। 

भारतबाट नेपाल भित्रिने नेपालीहरूको संख्या झनझन बढिरहेको छ। तर सीमामा नत होल्डिङ्ग सेन्टर बनाउने पहल भएको छ, नत स्थानीय स्तरमा आइसोलेशनको उचित व्यवस्थापन नै गरिएको छ। 

गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले धनगढी नजिक रहेको गौरिफन्टा नाकामा किटको अभाव हुँदा समूहमा एक जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिन लागिएको बताए। 

‘किटको अभाव छ। नाकामा पुगेका नेपालीहरूको समूह मध्ये एक जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरेका छौँ’ उनले भने, ‘एक जनाको रिपोर्ट पोजेटिभ आए सबैको परीक्षण गर्छौँ, नेगेटिभ आए सबैलाई पठाउँछौँ।’

भारतमा कोरोना बिकराल बनेको छ। योसँगै भारतबाट नेपाल फर्किने नेपालीहरूको संख्या पनि बढिरहेको छ। नाकामा गरिएको एन्टिजेन परीक्षणमा पनि झण्डै १५ प्रतिशतमा कोरोना संक्रमण देखिन थालेको छ। संक्रमणको दर भारतबाट आउने नेपालीसहित जिल्ला भित्रैपनि उच्च रहेको छ। 

कञ्चनपुरको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले नाकामा समूहमा एक जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नेगेटिभ आएपछि सबैलाई घर पठाउने गरिएको बारे थाहा नपाएको बताए। 

कोभिड–१९ संकट व्यवस्थापन समितिले भारतको सीमा नाकामा पायक पर्ने स्थानमा कम्तीमा एक हजार जनाको व्यवस्था हुने गरी होल्डिङ सेन्टरको निर्माण गर्ने निर्णय गरेको छ। तर कैलाली र कञ्चनपुरमा त्यसको निर्माणको लागि कुनै पहल भएको छैन। होल्डिङ्ग सेन्टर निर्माण गर्ने जिम्मैबारी आफ्नो नभएको भन्दै तीनै तहका सरकार पन्छिन थालेका छन्। 

कोरोना संक्रमणको चेन तोड्न निषेधाज्ञा जारी गरिएपनि अन्य तयारी नहुँदा कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञा निष्प्रभावी हुने दिएको हो।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस