सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तरजातीय विवाहको पीडाः ९ वर्षपछि घरबार चटक्कै छोडेर हिँडेकी पत्नीको खोजीमा भौँतारिईरहेका छन् राजेश दमाईँ

२०७७ चैत्र ३१, ०१:१२ आशिष मल्ल

धनगढी: वर्षौदेखि ड्राइभिङ पेशा गरिरहेका राजेश दमाईँ पछिल्लो केही समयदेखि छोटो दूरीको सवारी जीप चलाएर परिवार पालिरहेका थिए। त्यसैक्रममा उनी यहि चैत २१ गते अछाम पुगेका थिए। 

त्यहिँ भएका बेला उनलाई उनकी पत्नी बेपत्ता भएको खबर आयो। डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटरमा रहेको घरमा ७ वर्षीय छोरा राहुलका साथ बसेकी पत्नी ऐश्वर्या कता गइन् भन्ने पीरले उनी हतारहतार घर फर्के। 

उनले घर फर्कदै गर्दा ऐश्वयालाई  बारम्बार फोन गर्न प्रयास गरे तर ऐश्वर्याको मोबाइल स्विच अफ भनीरहेको थियो। बेलुकी घर पुगेर सर्वप्रथम उनले माइती पक्षलाई फोन गरे तर त्यहाँबाट पनि उनले ऐश्वर्या ‘यहाँ आएकी छैनन्’ भन्ने निराशाजनक उत्तर पाए। पछि बुझ्दा थाहा भयो ऐश्वर्या छोरा राहुल विद्यालय गएको मौका छोपी घर छाडेर गएकी रहेछिन्।

२९ वर्षीया पत्ती ऐश्वर्याको माइत अछाम भएतापनि उनका आफन्त भारतको गुजरातस्थित सुरतमा बस्छन्। भोलिपल्टै अर्थात चैत २२ गते राजेशले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा श्रीमती हराएको निवेदन दिए।

तर सोही दिन ऐश्वर्याले आफ्नो फेसबुकमा राखेको फोटो देख्दा राजेशलाई झट्का लाग्यो। उनले सेल्फी पोष्ट गरेकी थिइन्।  पुनः माइती पक्षलाई फोन गर्दा २९ वर्षीय राजेश दमाईँलाई भनियो ‘ऐश्वर्या कुँवर शकुशल छिन् अब उनलाई खोज्ने प्रयास नगर्नु।’

राजेश आकाशबाट खसेजस्तो भए। 

९ वर्षअघि अत्तरियामा मिलन, भागेर बिहे
९ वर्षअघि राजेश दमाईँ र ऐश्वर्या कुँवरको भेट कैलालीको अत्तरियामा भएको थियो।

“म त्यतिबेला बसमा कन्डक्टरको काम गर्थे। उनले  मलाई फोन गरिरहन्थिन्। त्यसैले पहिलाेपटक हामी अत्तरियामा भेटेका थियौं” राजेशले भने। “ऐश्वर्याले मेरो घर डडेल्धुरा घुम्न जाने भनेपछि हामीसँगै डडेल्धुरा गएका थियौं। हामी त्यो दिन डडेल्धुराको बसपार्कमा रहेको एक होटेलमा बस्यौं। तर त्यो दिन हामीबीच केही भएन।” 

सोही दिन राजेशले ऐश्वर्यालाई ‘अब के गर्छौ घुम्न जाने की मेरो घर जाने’ भनेर प्रश्न गर्दा ऐश्वर्याले ‘म तिमीसँग बिहे गर्छु’ भनेर भनेकी थिइन्।

त्यसपछि उनीहरु दुवैको बिहे भएको थियो। बिहेपछि ऐश्वर्याको गर्भको बच्चा रह्यो तर पेटमा ८ महिनाको बच्चा हुँदा उनी बेपत्ता भएकी थिइन।

“बेपत्ता भएपश्चात अत्तरियाबाट प्रहरीले खबर गरेपछि म अत्तरिया आएर उनलाई घर लगेको थिए” राजेशले भने, “मैले कता गएको थियौं, किन गएको थियौ भने सोध्दा केही होइन खाली भनेर उनले जवाफ फर्काएकी थिइन।”

उक्त घटनापछि ऐश्वर्याले राहुललाई जन्माइन। तर बीचबीचमा उनको गतिविधि भने शंकास्पद रहेको राजेश सुनाउँछन्। “केही वर्षअघि मात्रै ऐश्वर्या एउटा केटासँग कुरा गरिरहेका फेला पारेको थिएँ” उनले भने, “त्यो केटा सुन्तला ल्याएर मेरो घरमा पनि भेट्न आएको रहेछ। मैले सोधखोज गर्न थालेपछि उनीहरुबीच कुराकानी बन्द भएको थियो।”

माइतीबाट ऐश्वर्यालाई ‘भाग’ भनेर आएका ति फोनकल
राजेश दमाईँका अनुसार सुरुका दिनबाटै माइती पक्ष उनीहरुको वैवाहिक सम्बन्धको विपक्षमा रहेका थिए। उनीहरु क्षेत्री भएका हुँदा ऐश्वर्याले दलित भनिने जातको केटासँग बिहे गरेको नरुचाएको राजेश बताउँछन्। 

“कहिलेकाँकी श्रीमतीलाई माइतबाट उसका आमाबुवाले फोन गर्थे। ‘अब पनि केही बिग्रेको छैन, त्यो दलितको छोरालाई छाडेर भागेर आइज’ भनेर भनिरहेको मैले सुनेको थिए” आँखाभरी आएका आँशु पुछ्दै राजेश भन्छन्, “मैले त केही कमी गरेको थिएन। छोरा राहुल र श्रीमतीलाई सबैथोक पुर्‍याएको थिए तर खै के भयो उनले यसरी छाडेर भागीन।”

अहिले तिनै भारतमा रहेका भाइती पक्षले ‘अब धेरै नसोच्नु हामीले ऐश्वर्याको व्यवस्था गरिसके। उनी यही छिन्’ भनेर राजेशलाई भनीरहेका छन्। 

पत्नी खोज्न धनगढी 
पत्नी बेपत्ता भएको ९ दिन भइसक्यो। प्रहरीले मतलब नगरीरहेको लागेपछि राजेशलाई ऐश्वर्या धनगढीस्थित आफ्नी दिदी भिनाजुको घर आएकी छिन् भन्ने खबर प्राप्त भयो। 

त्यसपछि उनी आफ्ना एक छिमेकी भाइ नरेश सार्कीलाई बोकेर धनगढी आए तर दिदी भिनाजुलाई सोध्दा उनीहरुले पनि ‘ऐश्वर्या यहाँ आएकी छैनिन्’ भन्ने जवाफ फर्काए। अब राजेशले पत्नी फर्किएर आउने आशा मारिसकेका छन्। 

“यदि ऊ मसँग खुसी छैन भने। मसँग नबसोस्” भक्कानो छोड्दै उनी भन्छन्, “त्यो बिचरा छोराको त माया मान्नुपर्ने। २ कक्षामा पढीरहेको बाबुको पढाई बिग्रीदैछ। ऐश्वर्या गएको दिनदेखि ऊ स्कूल पनि गएको छैन। मसँग नबस्ने भए अलग्गै बेवस्था गरिदिन्छु। छोरालाई लगेर अलग्गै बसोस् तर सम्पर्कमा त आइदिनुपर्‍याे।”

उक्त विषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई बुझदा राजेश दमाईँले श्रीमती बेपत्ता भएको भन्दै निवेदन दिएको र श्रीमती ऐश्वर्याको खोजी कार्य जारी राखेको बताएको छ। 

यस्तै राजेशले माइती पक्षको भनेर उपलब्ध गराएको भारतीय नम्बरमा सम्पर्क हुन सकेन।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस