२१ दिनदेखि श्रीमती सेती अस्पतालको शैय्यामा, कुरुवा पतिको मृत्यु
धनगढी: गत फागुन १५ गते श्रीमतीको उपचारका लागि दार्चुलाको लेकम गाउँपालिका–२ का भानदेव भट्ट धनगढी आए। हात 'फ्याक्चर' भएकी श्रीमतीको उपचारका लागि उनी सेती प्रादेशिक अस्पताल पुगे।
४० वर्षीया श्रीमती अनिता भट्टलाई भर्ना गराएपछि उनी ढुक्क बने। तर केही दिनको उपचारपछि श्रीमती सकुशल हुन्छिन् भन्ने ठानेका ४८ वर्षीय भानदेव श्रीमतीसहित आफ्नो गाउँ फर्किन नसक्ने भएका छन्। श्रीमतीको उपचार गराउन आएका उनी आफै मृत्यु शैय्यामा सुतिसके।
अनिताको उपचार भइरहेको २१औं दिनमा उनी अस्पतालकै बाहिर बेहोश अवस्थामा भेटिएका थिए। खाजा खान भनी निस्किएका उनी बेहोश भएर ढलेको अवस्थामा फेला परेका थिए।
उनलाई कैलाली प्रहरीको टोलीले श्रीमती उपचाररत सेती अस्पतालमै लगेको थियो। तर अस्पतालमा पुर्याएको केही बेरमै चिकित्सकले भानदेवलाई मृत घोषणा गरिदिए।
उनको मृत्यु के कति कारणले भयो भन्ने कुरा शव परीक्षणपछि मात्रै थाहा हुने अस्पताल प्रशासनले जनाएको छ। यद्यपि भानदेव भट्टको मृत्यु हृदयघातका कारण भएको हुनसक्ने अस्पतालले जनाएको छ।
उता अस्पतालको शैयामा रहेकी भानदेवकी श्रीमती अनिताले श्रीमानको मृत्युको खबर पाएकी छैनिन्। सायद उनी श्रीमानलाई कुरिरहेकी छिन्।
उनको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
सम्बन्धित समाचार :
सेती अस्पतालमा कुरुवा बसेका एक पुरुषको मृत्यु