सुदूर नेपाललाई विश्वसँग जोड्दै

४० वर्षदेखि भारतको जेलमा रहेका दुर्गाप्रसाद नेपाल फर्किँदै

२०७७ चैत्र ५, १२:२० खबर संवाददाता

काठमाडौं : ४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न अदालतले आदेश दिएको छ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई रिहा गर्न बुधबार साँझ आदेश दिएको हो।

इलामबाट ४ दशक अघि दार्जिलिङ पुगेका उनी हत्या आरोपमा पक्राउ परेका थिए। भारतीय सेनामा जागिर दिलाउने भन्दै उनलाई एक व्यक्तिले पश्चिम बंगालको दार्जिलिङ बोलाएका थिए। तिनै व्यक्तिले उनलाई हत्या गर्न लगाएको प्रहरी रिपोर्टमा उल्लेख भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

दुर्गाप्रसादलाई कलकताको दमदम कारागारमा राखिँदै आएको थियो। त्यहाँ बस्दा उनको मानसिक अवस्था कमजोर बन्दै गएको थियो। कारागारमा रहेका एक कैदीले बाहिरिएपछि दुर्गाप्रसादको अवस्थाका बारेमा आफ्ना साथीहरुलाई सुनाएका थिए। त्यही कुरा कोलकाताको ह्याम रेडियाका अपरेटरहरुसम्म पुग्यो। उनीहरुले नेपाल रेडियो क्लबका सदस्याहरुलाई सम्पर्क गरे र दर्गाप्रसादको आमा मनोमाया देवीसम्म पुगे।

त्यसपछि मात्रै उनको अवस्‍था सार्वजनिक भएको थियो। त्यसपछि दीपक जैसी समेत भनिने ७० वर्षीय दुर्गाप्रसादको अवस्थाबारे आफन्तहरुले नेपाल सरकार र भारतस्थित नेपाली दूतावासलाई जानकारी दिएका थिए।

दुर्गाप्रसादका दाइ प्रकाश, आफन्त गोपाल तिम्सिना र सामाजिक काम गर्ने इन्द्र बस्नेतले कारागारमा गएर १० फागुन २०७७ मा उनलाई भेटे। नाता प्रमाणित गरेपछि कारागारले भेट गर्न दिएको थियो । त्यसपछि उनलाई तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिइएको थियो।

कमेन्ट लोड गर्नुस