सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका २ महिलालाई २५ लाख चिठ्ठा परेको म्यासेज आएपछि...

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ फाल्गुन १९, ०१:२७ आशिष मल्ल

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका गोबरीयाकी शुशिला बोहरालाई केही समय अघि सामाजिक सञ्जाल ‘फेसबुक’मा २५ लाखको चिठ्ठा परेको म्यासेज आयो। बधाईसहितको म्यासेज आएपछि उनी खुसी भइन। बिस्तारै ती म्यासेज पठाउने व्यक्तिले सामाजिक सञ्जाल ‘इमो’बाट समेत शुशिलालाई बधाई दिए। 

ती व्यक्तिले चिठ्ठा रकम पाउन पहिले केही रकम पठाउनुपर्ने नियम भएको बताए। सोही अनुुसार शुशिलाले ५५ हजार व्यक्तिले दिएको खाता नम्बरमा पठाइन। तर त्यो इमोबाट कल गर्ने व्यक्तिले भने अनुसारको २५ लाख उनले प्राप्त गर्न सकिनन्। 

कञ्चनपुरकै दोधारा चादँनी नगरपालिका–७ की माया बुढालाई पनि त्यसैगरी म्यासेज आएको थियो। २५ लाख पाउने भएपछि उनले पनि सामाजिक सञ्जालन ‘वाट्सयाप’ बाट आएको कल बमोजिम २० हजार पठाइन। तर मायाले पनि आफुले जितेको भनेको २५ लाख पाउन सकिनन्। बरु ती व्यक्तिले फेरि पैसा पठाउन भने र कसैलाई नभन्न समेत आग्रह गरे।  

त्यसपछि शंका लागेर शुशिला बोहरा र माया बुढा प्रहरी समक्ष पुगेका छन्। उनीहरुले आफुहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएका छन्। 

दुवै महिलामाथि अपरिचित नम्बरबाट कल गरेर अनलाइन ठगी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

पहिल्लो समय अपरिचित नम्बरबाट इमो तथा वाट्सयापमा यसरी नै चिठ्ठा परेको भन्दै ठगी भइरहेको उनले बताए। कही समयअघि मात्रै कञ्चनपुरमा अनलाइन ठगीको शिकार बनेका एक जनाको रकम फिर्ता गराउन सफल भएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

‘यस्तो कुरामा नागरिक आफै सचेत हुनु आवश्यक छ। अपरिचित नम्बरबाट आएको कलमा विश्वास नगरेर प्रहरीलाई जानकारी गराउन आग्रह गर्छु’ उनले भने। 

साथै कञ्चनपुर प्रहरीले ठगिएको विषयलाई विभिन्न माध्यमबाट अनुसन्धान गरिरहेको बताएको छ। 
 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस