सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतसँग जोडिएका अन्य नाका खुल्दा गड्डाचौकी र गौरीफन्टामा रोक किन कायमै ?

२०७७ माघ २८, ०९:०२ सरेन जैरू

धनगढीः जिल्ला प्रशासन कार्यालय बैतडीले माघ २३ गते सूचना जारी गर्दै झुलाघाट नाकाबाट आवातजावत खुला गरिएको जनाएको छ। जारी सूचनामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरि आवश्यक भएका नेपाली र तोकिएका शर्तको पूर्ण पालन गरि भारतीयले समेत सहज रुपमा आवतजावत गर्न पाउने उल्लेख छ। 

प्रशासनले मन्त्रीपरिषद्ले माघ ११ गते गरेको निर्णयका आधारमा सीमानाका पूर्ववत रुपमा खुला गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि मन्त्रीपरिषद्कै निर्णयका आधारमा नाका खुल्ला गरेको भनेको छ। 

तर कञ्चनपुरको गड्डाचौकी र त्रिनगर–गौरीफन्टा नाकामा भने अत्यावश्यक बाहेक दुवै देशका नागरिकलाई अझै सहज आवतजावत खुला गरिएको छैन। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमबरबहादुर थापाले अहिले रोजगारी गर्न, अध्ययन गर्न र उपचारका लागि दैनिक १ हजार देखि १५ सय जना भारत जाने गरेको र ५ सयदेखि ८ सयको संख्यामा भारतबाट स्वदेश फर्किने गरेको बताए। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सरकारले सीमानाका पूर्ण रुपमा खुला गर्ने निर्णय गरेपनि गृह मन्त्रालयबाट परिपत्र नआएका कारण समस्या भएको दाबी गरेका छन्। 

भारतबाट फर्किनेहरुबाट कोरोना संक्रमणको जोखिम उच्च रहेकोले निर्वाध आवतजावत हुन नदिएको तर्क उनको छ। 

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गत चैतमा भारतसँग जोडिएका सीमा नाका बन्द गरेको थियो। 

पछि बीचमा आवागमनलाई खुकुलो बनाइएको थियो। कञ्चनपुरका सीमानाकामा अझै आवागमन सहज भइनसकेका बेला पहाडी जिल्लामा भने आवागमन सहज गरिएको हो। 

यसअघि सरकारको निर्णयपछि दैनिक उपभोग्य सामान किनमेलका लागि सीमा नाकामा पुगेकाहरुलाई पनि सरकारले परिपत्र नआएको भन्दै फर्काइएको थियो। 

गृहको परिपत्र बैतडी र दार्चुलामा पुगेर नाका पूर्ण खुला हुने र अहिलेसम्म परिपत्र नै नपुगेको भन्ने कञ्चनपुर प्रशासनको दाबीले विभिन्न आशंका पैदा गरेको सर्वसाधारणको भनाई छ।

तर गृह मन्त्रालयले भने सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाइसकेको बताएको छ। 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस