सुदूर नेपाललाई विश्वसँग जोड्दै

अढाई वर्षमा बन्ने पुल ९ वर्षमा पनि अपूरो, अलपत्र हुने कारण यस्तो

२०७७ मंसिर ४, ०४:४० रोशन भट्ट

धनगढी: कैलाली जिल्लामा हुलाकी राजमार्ग अन्तरगत भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमाथि पुल निर्माण सुरु भएको ९ वर्ष बितेको छ। 

साढे २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको लामा साल्पा शर्मा बिरुवा कम्पनीले ९ वर्ष बित्दा समेत पुलको ६० प्रतिशत मात्रै काम गरेको पाइएको छ।

ढिलाइका कारण नदी माथि आधा तेर्सिएर ठडिएको देख्न सकिन्छ, जसका कारण स्थानीयवासीले डुङ्गाको सहाराले नदी तर्नु पर्ने र अनेकन सास्ती खेप्नु पर्ने बाध्यता कायमै छ। 

निर्धारित समयावधि सकिएपछि पटक–पटक थप म्यादमा निर्माण व्यवसायीले काम गर्न नसकेको पाइएको हो। 

४ करोड ४२ लाख रुपैयाँ लागतको पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पुर्याधइएको हुलाकी सडक आयोजना कार्यालय धनगढीका सूचना अधिकारी पदम बहादुर मडैले बताए।

‘सुरुवातमा डिजाइन परिवर्तन गर्नुपर्ने भएका कारण ढिलाइ भएको हो,’ उनले भने, ‘निर्माण कम्पनीको समेत लावरवाही भएको छ।’ 

अहिले भने ढिलै भएपनि पुल निर्माणको काम भइरहेको उनले बताए। 

लामा साल्पा शर्मा बिरुवा कम्पनीले आफ्नोतर्फबाट कुनै लापरवाही नभएको प्रतिक्रिया दिएको छ। 

कम्पनीका सञ्चालक सविन श्रेष्ठले दिनेशखबरसँग भने, ‘सुरुमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भयो । पछि साझेदारहरुले काम नगर्दा ढिलाइ भएपनि अब काम जारी छ ।’

निर्माणमा ढिलासुस्ती हुँदा भजनी नगरपालिकाको वडा नम्बर ५ र ७ का स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ। 

भजनीकी स्थानीय आरती चौधरीले समयमा पुल निर्माण नभएपछि निकै सास्ती खेप्न बाध्य भएको बताइन् । उनले अगाडी भनिन् ‘पुल नबनेपछि ज्यान जोखिम मोलेर नदी पार गर्नुपर्छ । नदीमा डुंगा चढ्दा पैसा तिर्नुपर्छ ।’ 

अन्य पुलको हबिगत

कैलालीमा थोरै पुल मात्र समयमैँ पूरा भएका छन्। निर्माणाधीन अन्य कयौँ पुलको अवस्था पनि उस्तै छ। 

धनगढी उपमहानगरपालिका–७ स्थित शिवगंगा नदीमा निर्माणाधीन पुल पप्पु एड्भेन्चर प्रालिले अलपत्र पारेको अधिकारीहरूको भनाइ छ।

३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०७४ सालमा भएको सम्झौताअनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नुपर्ने थियो तर निर्धारित समयमा ४५ प्रतिशत प्रगति गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए । 

‘पुल निर्माणको काममा निर्माण कम्पनीको समेत लापरवाही छ,’ उनले भने, ‘पछिल्लो समयमा कोरोना भाइरसको प्रभावले समेत केही पुल निर्माणको काममा ढिलाइ भएको हो ।’

लम्कीचुहा नगरपालिकास्थित पथरैया नदीमाथि बनाउन लागिएको पुलको काम समेत अलपत्र छ। धनगढीबाट राजघाट जोड्ने मोहना नदीको पुल निर्माण सुरु भएको छ वर्ष हुँदा पनि अझै काम पूरा भएको छैन। 

यो सँगै कैलालीमा मात्र दर्जन बढी पुलहरु निर्माणाधिन अवस्थामा छन्। 

पटक–पटक म्याद थप गरेपनि निर्माण कम्पनीहरूको विभिन्न कारण देखाउने गरेकोले ती पुल निर्माणको काम पूरा हुन नसकेको अधिकारीहरू बताउछन्। 

पछिल्लो समय त झन् कोभिड-१९ को कारण देखाउदै पन्छिने वा परियोजना सम्पन्न गर्न थप ढिलाइ गर्ने प्रवृत्ति देखा परेको उनीहरू बताउँछन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस