सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रहरी हाई अलर्टमा, ५ हजार बढी परिचालन

२०७७ कार्तिक ३०, १२:२१ रोशन भट्ट

धनगढी : चाडपर्वमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सुदूरपश्चिममा प्रहरीलाई हाई अलर्टमा राखिएको छ ।

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सार्वजनिक गरेको एकिकृत सुरक्षा योजनालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्रियता बढाएको प्रहरीको दाबी छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले चाडपर्वको अवधीमा हुन सक्ने सम्भावित आपराधिक गतिविधिलाई नियन्त्रण ५ हजार भन्दा बढी प्रहरी परिचालन गरेको बताए ।

सादा पोषाकमा प्रहरी परिचालन संगै साइकल गस्ती, पेट्रोलिङ लगायतका अन्य तयारी अवस्थामा रहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । यसैबीच प्रदेशमा तिहारकै अवधीमा हुन सक्ने दुर्घटनालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापनलाई थप कडा परिएको छ । क्षमता भन्दा बढी यात्रु ओसार पसार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिका कारण दुर्घटना हुने गरेका छन् ।

जसलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको बताइएको छ । नियमित चेक जाँच संगै, सरप्राईज चेकिङ, टाइम कार्डको पुर्ण कार्यान्वयनलगायत अन्य एकिकृत योजनाहरु लागु गरिएको प्रहरीको भनाइ छ । यता जिल्ला प्रशासन कार्यालय कैलालीले पनि कोरोना संक्रमणबाट सुरक्षित रहेर तिहार मनाउन आग्रह गर्दै आएको छ ।

यो अवधीमा हुने देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाइएको छ, भने जमघट र धेरै आवातजावात नगर्न आम जिल्लावासीलाई निर्देशन दिएको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा बताउँछन् ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस