औपचारिक रुपमै सीमा खुला गर्न नेपाली प्रशासनलाई भारतको दवाब
धनगढी : भारतले सुदूरपश्चिम संग जोडिएका सीमानाका खुला गरेको छ । नेपाली र भारतीयहरुको आवातजावात सामान्य समयमा जस्तै निर्वाध चल्दैछ ।
तर यता नेपाली प्रशासनको रोक यथावतै भएपछि भारतीय पक्षले औपचारिक रुपमै सीमा खुला गर्न नेपाली प्रशासनलाई दवाव दिन थालेको पाइएको छ । सुदूरपश्चिम प्रदेशस्थित जिल्ला प्रशासन कार्यालयहरुलाई आवागमनमा रोक नलागाउन पत्राचार गरिएको हो ।
भारतको गृहमन्त्रालयको निर्देशनपछि लखिमपुर खिरी प्रशासनले नेपाल संग जोडिएका सीमानाका खुला गरेपछि औपचारिक रुपमा सीमा खुुला गर्न पत्र आएको जिल्ला प्रशासन कार्यालय कञ्चलनपुरले जनाएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘सबै नेपालीहरु भारतमा आउन पाउने भए । तर भारतीय नागरिकहरुले नेपाल प्रवेश नपाएपछि आवश्यक सहयोग गरीदिन भन्दै खिरीको पत्र प्राप्त भएको छ ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले अगाडी थपे, ‘भारतीयलगायत सबै विदेशी नागरिकलाई नेपाल प्रवेशमा हाम्रो स्तरको निर्णयले पुग्दैन । हामीले सोही पत्र गृह मन्त्रालयलाई पठाएका छौं ।’
दैनिक हजारौँ संक्रमित भेटिरहेको भारतमा नेपाल संग जोडिएका सीमानाका खुला गरे थप जोखिम बढ्ने चिन्ता गरिएको छ । जुन कारण नेपाल तर्फको नाका तत्काल नखोल्न आग्रह गरिएको छ ।
‘भारतीयलाई निर्बाध प्रवेश दिए संक्रमण फैलाउन सहयोगी भूमिका खेल्छ’, सेती प्रादेशिक अस्पतालका पुर्व मेसु डा. गणेशबहादुर सिंह भन्छन्, ‘आफ्नै नागरिकलाई समेत क्वारेन्टाइनमा राख्न वेवास्ता गरिरहेको सरकारले तत्कालै नाका खोलेपछि कोरोनाले भयावह रुप लिन्छ ।’
हाल रोजगारीको लागि हजारौं नेपाली धमाधम भारत पसिरहेका छन् । भारतले आधार कार्ड र नेपाली नागरिकताको आधारमा नेपालीलाई प्रवेश दिदै आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा बताउँछन् ।
हाल सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा र गड्डाचौकी नाका भएर नेपालीहरु भारत गइरहेका छन् । भारतले पनि सोही नाका भएर आफ्ना नागरिकहरुलाई प्रवेश अनुमति दिन दवाव सिर्जना गर्न थालेको हो ।