भारतीय जंगलमा नेपाली महिलाको शव फेला, डायरीमा श्रीमानको नाम !
धनगढीः भारतीय जंगलमा नेपाली महिलाको शव फेला परेको छ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका क्षेत्रबाट ४ किलोमिटर भित्र भारततर्फ दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भारतीय प्रहरीले महिलाको शव फेला पारेको बताए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार महिलाको शव सडेको अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो । महिलाको शव नजिकै एउटा डायरी पनि भेटिएको छ ।
उक्त डायरीमा कञ्चनपुरको साविकको परासन गाविस वडा नम्बर ३ ठेगना उल्लेख गरिएको छ ।
डायरीमा आफ्नो नाम नरदेवी कठायत, श्रीमान राजेन्द्रसिह कठायत र बुवाको नाम कासी बोगटी लेखिएको पाईएकाले सोही अनुसार महिलाको पहिचानमा जुटेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
महिलाको शव अहिले भारतको पलियामा राखिएको छ ।