सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना संक्रमणको स्थितिवारे ‘क्षेत्र विशेष’ अध्ययन भएन

२०७७ कार्तिक १७, ०२:४८ रोशन भट्ट

धनगढी: सुदूरपश्चिममा प्रदेशमा क्षेत्र विशेष कोरोना संक्रमणको स्थितिबारे अध्ययन हुन सकेको छैन् ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मातहतका कुनैपनि निकायले संक्रमणको अवस्थाबारे अध्ययन नगरिदा कुन क्षेत्रको स्थिति कस्तो छ भन्नेवारे यकिन हुन नसकेको हो ।

सुदूरपश्चिम प्रदेशमा दैनिक कोरोना संक्रमणको दर उच्च छ । मृत्युदर पनि उत्तिकै छ । तर क्षेत्र विशेषलाई आधार मानेर अध्ययन नगरिदा जोखिम स्थिति यकिन हुन नसकेको चिकित्सकहरु बताउँछन् ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले अध्ययन भएको भए स्थान विशेष तथा स्थानीय तह वा जिल्लागत जोखिमको अवस्था हेरेर सोही अनुसार रणनीति बनाउव मदत मिल्ने बताउँछन् ।
‘जोखिमको स्थितिबारे अध्ययन गर्न आवश्यक छ,’ उनले भने, ‘उच्च जोखिममा रहेका क्षेत्रको पहिचान भएपछि कोरोना नियन्त्रण गर्न सहज हुन्छ ।’

तर सम्बन्धित निकायले भने संक्रमणको जोखिमबारे अध्ययन नगरेको भेटिएको छ । प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको र दैनिक संक्रमण पनि तीव्र रुपमा फैलिरहेको कैलालीमा समेत क्षेत्र विशेष र स्थानीय तह अनुसार जोखिमको अवस्थाबारे सुक्ष्म रुपमा अध्ययन हुन नसकेको पाइएको छ ।

परीक्षणको दायरा समेत घटेपछि स्थितिबारे अन्योलता देखिएको छ । तर तुलनात्मक रुपमा तीव्र संक्रमण फैलिरहेको धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका सबैभन्दा बढी जोखिममा रहेको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामी बताउँछन् ।

‘यस विषयमा अध्ययन नै हुन सकेको छैन्,’ उनले भने, ‘संक्रमण पुष्टिको आधारमा मात्रै अनुमान गर्न सकिन्छ ।’

प्रदेशमा संक्रमणको अवस्थाबारे अध्ययन नगरिएपछि कुन स्थानमा कुन चरणमा प्रवेश गरेको छ भन्नेवारे खुल्न सकेको छैन् । अवस्था अध्ययन गरी सोही अनुसारको रोकथाम तथा उपचार पद्धति, सेवा विस्तारलगायतका रणनीति लागु गर्नुपर्नेमा प्रदेश सरकार चासो नलिएको पाइएको छ ।

‘कोरोनाको जोखिमयुक्त क्षेत्रको पहिचान भएको छैन्,’ प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘आवातजावात बढी हुने ठूला शहरलाई बढी जोखिमयुक्त क्षेत्र मान्न सकिन्छ ।’

अर्कोतिर संक्रमणको अवस्था यकिन गर्न परीक्षणको दायरा समेत बढाउनुपर्ने हो । जसको लागि प्रयोगशालाको संख्यामा पनि बृद्धि गरिएको छ । तर पछिल्लो समय परीक्षणको दायरा भने घटेको छ । दैनिक हजारौंको संख्यामा संक्रमित भेटिरहेको भारतबाट फर्किनेहरुको त परीक्षण गर्नै छोडिएको छ । 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस