सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सार्वजनिक सवारीमा चहलपहल संगै संक्रमणको जोखिम बढ्यो

२०७७ कार्तिक १६, ०४:०६ रोशन भट्ट

धनगढी: सुदूरपश्चिममा सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न वेवास्ता गरिन थालेपछि कोरोना संक्रमणको जोखिम थप बढेको छ ।

चाडपर्वका बेलासमेत अघिल्ला वर्षहरुमा जस्तो सार्वजनिक यातायातमा भीडभाड नभएपनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगर्दा जोखिम कायमै रहेको हो ।

लामो दूरीका सवारी साधनमा यात्रुहरुको चाप नबढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिदा जोखिम बढेको गुनासो गरिएको छ ।

सीमित यात्रुहरुमा समेत लापरवाही बढेपछि एक व्यक्तिबाट अर्कोमा संक्रमण फैलिने जोखिम छ । तर पनि काम विशेषले सार्वजनिक सवारी साधनमा यात्रा गर्नुपर्ने बाध्यता रहेको धनगढी बसपार्कमा भेटिएका यात्रु खेमबहादुर शाही बताउँछन् ।

‘सार्वजनिक सवारीमा हुने लावरवाहीले कोरोना संक्रमणको जोखिम बढी छ,’ उनले भने । तर यातायात व्यवसायीहरुले भने पटक–पटक मापदण्ड फेरिदा अन्योलता सिर्जना भएको रिभर साईड यातायात प्रालिका अध्यक्ष धिरज शाहीले बताए । 

अर्कोतिर दशैं सकिएपछि सुदूरपश्चिमका केही बसपार्कहरुमा सामान्य चहलपहल सुरु भएपनि अपेक्षाकृत रुपमा यात्रु नपाइने समस्या भने कायमै रहेको छ । दशैं मनाउनका लागि घर गएकाहरु कर्मथलो फर्किने क्रम बढेपछि यातायात व्यवसायीहरुलाई केही राहत पुग्ने विश्वास लिइएको थियो । 

सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले आमनागरिकले पनि कोरोना भाइरसको प्रभावका कारण सार्वजनिक यातायातमा यात्रा गर्न छोडेपछि समस्या भएको बताए । ‘सीमित मात्रा संञ्चालन भएका सवारी साधनहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरिएको छ,’ उनले दाबी गरे । 

लामो दूरीका सवारी साधनहरु आपेक्षाकृत रुपमा संञ्चालनमा नआएपनि लापरवाही बढेको छ । छोटो दूरीका सवारी साधनमा त सामान्य समयमा जस्तै सिट क्षमता भन्दा बढी यात्रु बोक्दा कोरोनाको जोखिम झनै बढेको पाइएको छ ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस