सुदूर नेपाललाई विश्वसँग जोड्दै

मल आपूर्तिकर्ताको निकम्मापन : किसानले सधैभरी मलको लागि जाग्राम बस्नुपर्ने बाध्यता

२०७७ कार्तिक १३, ०२:१९ रोशन भट्ट

धनगढी : सुदूरपश्चिममा रासायनिक मलको आपुर्ति सहज नहुँदा किसानहरु प्रत्येक वर्ष समस्यामा पर्दै आएका छन् ।

चालु वर्ष पनि हिउँदेबालीको सिजन सुरु भैसक्दा समेत मलको आपुर्तिमा समस्या देखिएपछि समस्यामा परेका हुन् ।

सहकारी संस्थाहरुबाट वितरण हुँदै आएको मल किसानहरुले नपाएको गुनासो गरिएको छ । कसैले पाए पनि निकै थोरै मात्रामा मात्रै पाएको गुनासो किसानहरुको छ ।

सुदूरपश्चिममा गहुँ छर्नु भन्दा अगाडी किसानहरुलाई डिएपी मलको आवश्यकता पर्ने भएपनि कृषि सामग्र कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा भने मौज्दात शुन्य रहेको छ । सहकारीबाट समेत न्युन परिमाणमा मात्र मल वितरण भइरहेका कारण किसानहरु समस्यामा परेका हुन् । उत्पादन बढाउनका लागि मल अनिवार्य भए पनि सरोकारवाला निकायको उदासिनताले मार परेको धनगढी उपमहानगरपालिका १६ भादाका स्थानीय किसान देशराज चौधरीले दुखेसो सुनाए ।

‘आवश्यकता अनुसार मल नपाए पनि राती २ बजेदेखि नै सहकारी संस्था अगाडी लाइनमा बस्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘अहिलेको सिजनमा डिएपी आवश्यक पर्ने भए पनि आपुर्तिमा वेवास्ता भइरहेको छ ।’ 

विशेषगरी कैलालीका किसानहरु सहकारी संस्थाहरुमा मल आएको सूचना पाउने बित्तिकै रहेक दिन धाउने गरेका छन् । कतिपय थोरै मात्रामा मल आउने गरेको भएपनि अधिकांशं भने रित्तै हात फर्किनु परेको गुनासो गरिएको छ । हरेक सिजनमा मलको लागि लाइनमा बस्दै आएका किसानहरु हिउँदे सिजनका लागि पनि मल नपाउदा निराश भएका छन् । किसानहरू कोराना कहरकाबीच पनि मलको लागि जोखिम मोलेर भए पनि लाइनमा बस्दै आएका छन् । हरेक आर्थिक वर्षमा कृषि क्रान्ति समेटिएको नीति तथा कार्यक्रम र बजेट भाषण गर्ने सरकार यथार्थमा किसानको पीडाप्रति गम्भीर नभएको आरोप लागेको छ ।

‘मल पाउने आशाले विहान ४ देखि सहकारीको लाईनमा छौं,’ अर्का किसान राजाराम महतोले भने, ‘मल पाउने विषयको भने कुनै अत्तोपत्तो छैन् ।’

धान रोप्ने सिजनमा पनि मलको अभाव झेलेका कृषकहरू हालको हिउँदे सिजनमा पनि अभाव झेलिरहेका छन् । हाल कैलालीमा मात्रै होइन, सुदूरपश्चिमभर मलको चरम अभाव छ । 

सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको छ । तर हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडले मलको आपूर्ति गर्न सकेको छैन भने मौज्दात पनि शुन्य रहेको छ । गहुँ छर्नु भन्दा अगाडी डिएपी मलको आवश्यकता पर्ने भएपनि मौज्यात नरहेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नवलसिंह बोगटीले बताए । 

डीएपी र युरिया चाहिने सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड धनगढी संग हाल पोटास मात्रै रहेको छ । ३ सय टन पोटास मौज्दात रहेको दावी गरिएको छ । तर डीएपी र युरियाको आपूर्ति भने वेवास्ता भैरहेको छ । सुदूरपश्चिम प्रदेशमा ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ संग पनि मलको मौज्दात नरहेको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख केशव पाण्डेयले बताए ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस