धनगढी विमानस्थल स्तरोन्नतीको कार्य अन्तिम चरणमा, रात्रिकालिन उडान गर्न परीक्षण बाँकी
धनगढी: धनगढी विमानस्थल स्तरवृद्धीको र धावनमार्ग मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ। धावनमार्ग मर्मत सम्भार, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य अन्तिम चरणमा पुगेको हो।
पहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तरवृद्धिसँगै दुवैतर्फ /२ मिटर फराकिलो बनाईएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बढ्थापाले बताए।
तीन वटा विमान पार्किङ गर्ने क्षमता रहेको विमानस्थलको मर्मत सकिएपछि अव थप विमान पार्किङ गर्न सकिने भएको र एप्रोच लाईट र अन्य लाईटहरु थपिएको तथा सञ्चार उपकरण वृद्धि लगायतका सेवा विस्तार भएको उनले बताए।
‘विमानस्थल स्तरबृद्धिको काम लगभग सकिएको छ,’ उनले भने, ‘पार्किङ क्षेत्रको लेवल मिलाउने काम बाँकी छ। त्यो पनि केही दिनमा सकिन्छ।’
२०७६ देखि नै विमानस्थल स्तरबृद्धीको काम थालिएको भएपनि विभिन्न कारणले ढिलाई हुँदै आएको थियो। तर गत चैतदेखि कोरोना भाईरसको प्रभाव नेपालमा पनि देखिएकाले संघीय सरकारले जारी गरेको लकडाउनका कारण विमानस्थल स्तरबृद्धिको काम पनि प्रभावित भएको थियो।
पार्किङ क्षेत्रको लेवल मिलाउनसंगै ट्याक्सी लेन तर्फको नाली निर्माण गर्न पनि बाँकी रहेको निर्माण व्यवसायी रत्नबहादुर खड्काले बताए। ‘जमिनमुनीको पानीका कारण नाली निर्माणको काम गर्न समस्या भईरहेको छ,’ उनले भने। कम भिजिविलीटी अर्थात प्रतिकुल मौसममा पनि उडान भर्न सकिने गरी जापानी सहयोग नियोग जाईकाले विमानस्थलमा भीओआर–डिएमई उपकरण समेत जडान गरेको छ।
गत फागुनमा नै उक्त उपकरण जडान गरिएको भएपनि अहिले सम्म परीक्षण हुन सकेको छैन्। प्रतिकुल मौसम भएका दिन उडान प्रभावित हुने समस्या सामाधानका लागि उपकरण जडान गरिएको हो। तर जाईकाले अन्य विमानस्थालमा समेत उक्त उपकरण जडान गरेकाले एकै साथ परीक्षण गर्ने धनगढी विमानस्थल कार्यालयका प्रमुख बढ्थापाले बताए।