सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा भारतीय पक्षको अवरोध हटेन

२०७७ भदौ २५, ०८:४७ रोशन भट्ट

धनगढी : हुलाकी सडकको कञ्चनपुर खण्डमा भारतीय पक्षले गरेको अवरोध अझै हट्न सकेको छैन्। निर्माणाधिन हुलाकी सडकको क्षेत्र आफ्नो भूभाग भएको भन्दै भारतीय पक्षले विरोध गरेपछि समस्या उत्पन्न भएको थियो। 

जिल्लाको बेलौरी क्षेत्रमा पर्ने १२ सय मिटरमा विवाद देखिएको छ। विगतको नक्सामा पनि उक्त क्षेत्र नेपालमै देखिएको र ग्रावेल सडक समेत निर्माण गरिएका कारण हुलाकी सडकको पनि डिपिआर तयार पारेर काम गर्न सुरु गरेको आयोजना कार्यालयका सूचना अधिकारी पदम बहादुर मडैले बताए।

‘भारतीय पक्षले बेलौरी क्षेत्रमा सडक निर्माण गर्दा पटकपटक अवरोध सिर्जना गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल उक्त क्षेत्रमा काम नगर्न निर्देशन दिएको थियो,’ उनले भने, ‘अहिले त्यस विषयमा कुनै पनि जानकारी आएको छैन्। उक्त क्षेत्रमा काम पनि ठप्प छ।’  

कञ्चनपुरका तत्कालिन प्रमुख जिल्ला जिल्ला अधिकारी नूरहरी खतिवडाले उक्त विवाद दुई देशको उच्चस्तरिय टोलीले अध्ययन गरेर समाधान गर्नुपर्ने भएका कारण तत्तकाल काम नगर्न निर्देशन दिएका थिए।

अहिले उनको सरुवा भईसकेको छ। तर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले भने अब नयाँ प्रमुख जिल्ला अधिकारी आएसंगै सो विषयमा छलफल हुने बताए। 

हुलाकी सडकमा भारतीय पक्षले अवरोध गरेपछि आयोजना कार्यालयले समेत सडक विभाग लगायत जिल्ला प्रशासनसंगै अन्य सरोकारवाला निकायलाई मौखिक तथा लिखित रुपमा नै जानकारी गराईएको थियो।

१२ सय मिटर क्षेत्रफलमा सडक निर्माणको काम ठप्प रहेपनि उक्त विवाद समाधानमा सम्बन्धित निकायले वेवास्ता गरिरहेका छन्। बेलौरीसंगै हुलाकी सडककै अन्य क्षेत्रमा समेत विभिन्न समस्याहरु देखा परेका छन्। जसका कारण सडक निर्माणमा बाधा पुगिरहेको छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस