सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सबै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना भएपनि सेवा सुरु भएन

२०७७ साउन ३१, ११:४५ रोशन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार ९ वटै जिल्लामा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरिएको थियो। मन्त्रीपरिषद्को निर्णय अनुसार साउन १ गते प्रदेशमा थप तीन वटा कृषि ज्ञान केन्द्र स्थापना गरिएको थियो। ज्ञान केन्द्र स्थापनाको एक महिना पुग्नै लाग्दा समेत सेवा सुरु हुन नसकेको हो।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानको सहजताका लागि सबै जिल्लामा ज्ञान केन्द्र स्थापना गर्दै सेवा सञ्चालनमा ल्याउने जनाएको थियो। तर उक्त कार्यालयहरुले भने काम सुरु गरेका छैनन्। कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश पन्तले भदौको पहिलो सातादेखि मात्रै काम सुरु हुने बताए।

‘प्राविधिक कर्मचारी भएपनि प्रशासनिक कर्मचारीको व्यवस्थपना हुन सकेको छैन्’, उनले भने, ‘कार्यालय स्थापना भएको जानकारी भयो तर काम सुरु भएको छैन्।’ घर दैलोमा सेवा उपलब्ध गराउने उद्देश्य अनुसार सबै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो। यसअघि कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम र बझाङमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको थियो।

बाँकी कैलाली, डोटी र दार्चुलामा भने यही महिनाको १ गते मात्रै ज्ञान केन्द्र स्थापना गरिएको थियो। तत्काल मन्त्रालयकै कर्मचारीबाट ज्ञान केन्द्र व्यवस्थापन गरी सेवा प्रदान गरिने भनिएपनि ढिलाई भईरहेको छ। ज्ञान केन्द्र प्रमुखको जिम्मेवारी भने तोकिएको छ तर अन्य व्यवस्थापनमा भने हुन सकेको छैन्। डोटीका प्रमुख नरेन्द्र पनेरु पनि काम सुरु नभएको बताए।

विगतमा कञ्चनपुर कृषि ज्ञान केन्द्रले कैलाली, डडेल्धुराले डोटी र बैतडीले दार्चुलाका किसानलाई समेत सेवा दिदै आएका थिए। तर थप तीन वटा कृषि ज्ञान केन्द्र स्थापना भएपछि किसानलाई सहज हुने विश्वास लिईएको छ।

ज्ञान केन्द्रबाट सेवा प्रवाह गर्न आवश्यक पर्ने कार्यालय भवन संगै प्राविधिक तथा प्रशासनिक कर्मचारी र अन्य व्यवस्थापन भने हुन सकेको छैन्। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले भने प्रत्येक जिल्लामा ज्ञान केन्द्र स्थापना भएपछि किसानलाई सहज हुने बताए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस