सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सवारी साधनमा ग्रिसिङ गरेर चम्किँदै राधा

२०७७ साउन १०, ०६:४८ विन्दु चन्द

धनगढी: अहिलेका महिला घरभित्रै चुलोचौकोमा मात्रै सिमित छैनन्। उनीहरु पुरुषले जस्तै जस्तोसुकै काम गर्न समेत सक्षम बनीरहेका छन्। तर यसको मतलब यो होइन की पहिलेका महिलाले यी सबै काम गर्न सक्दैनथिए। केही समाजिक तथा पारिवारिक परिबन्धका कारण उनीहरु खुल्न सकिरहेका थिएनन्। 

आजभोली सिलाई–कटाई, गाडी तथा अटो चलाउने लगायत घर बाहिरका कामहरु गर्ने महिलाबारे सुन्न र देख्न पाइन्छ। तर यहाँ एक महिलाले विगत ८ वर्षदेखि ग्यारेजको काम गरिरहेकी भन्दा कसैलाई अचम्म लाग्नसक्छ। राधा नाथ, जो बस, ट्रक जस्ता सवारीमुनि छिरेर ग्रिसिङको काम गर्छिन्। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको एउटा ग्यारेजमा उनको दैनिकी बित्छ। बैतडीको दशरथचन्द नगरपालिका ३ घर भएकी नाथले एसएलसीसम्म अध्ययन गरेकी छन्। 

धनगढी लगायतका शहरमा बढीजसो ग्यारेजको काम भारतीय नागरिकले गर्छन्। यहाँका पुरुष भारत गएर भाटा खियाउन तयार हुन्छन् तर नेपालमै यस्ता प्रकारको काम गर्न लज्जाबोध गर्छन। तर राधा भने आफ्नो आर्थिक अवस्था बलियो बनाउन तथा परिवार पाल्न श्रीमानले खोलेको ग्यारेजमा हात काला बनाउँछिन्। एसएलसी पढ्दापढ्दै बिहे भएपछि उनको काधमा परिवारको जिम्मेवारी थपिएको थियोे। ‘कहिले सोचेको पनि थिएन की ग्यारेजमा ग्रिसिङको काम गरौंला भनेर’ उनले भनीन, ‘विद्यालय जाँदा समेत लजाउने म अहिले ट्रककोमुनी छिरेर काम गरिरहेको छु, कहिलेकाँही आफै अचम्ममा पर्छु।’

बिहेलगत्तै छोरी जन्मीएको ६ महिनापछि उनका श्रीमान रमेश नाथ बैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। श्रीमान विदेश हुँदा राधाले घर चलाइन् र छोरी हुर्काइन्। केहि वर्षपछि श्रीमान घर फर्किए। र, धनगढीको एक ग्यारेजमा गाडी धुने लगायतका काम गर्न थाले। पछि श्रीमानले आफ्नै ग्यारेज खोले र राधा पनि रमेशको सहयोगी बन्न बैतडीबाट तराई झरिन। 

राधा पहिले ग्यारेजमा हलुका खाले काम मात्रै गर्थिन। तर सिक्दैगएपछि राधा ग्रिसिङको काममा परिपक्व बनीन। ‘पहिले ग्यारेजमा एक्लै काम गर्ने श्रीमानलाई सघाउथिए’ उनले भनीन, ‘एक्लै काम गरेको देखेर दया लाग्थ्यो, सघाउदा सघाउदै मैले पनि ग्रिसिङको काम सिकेछु।’ उनलाई पहिले काम गर्न लाज नलागेको भने होइन। पहिलेपहिले ग्यारेजमा काम गदैगर्दा मानीसहरु भेला भएर आफुलाई हेर्ने गरेको उनले सुनाइन। उनी हास्दै भन्छिन, ‘त्यतिबेला साथिहरु आएपछि म नदेखेझै गरेर गाडीको साइडमा लुक्थे।’

यस्तै उनलाई काम सिक्ने क्रममा असहज समेत भएको थियो। आफुलाई पागल आईमाई समेत भन्ने गरेको विगत सम्झिदै उनले भनीन, ‘काममा जाँदा अपरिचितहरुले बौलाहा आईमाई भन्थे। लुगा पनि त्यस्तै झुत्रे लगाएर जाने भएकाले पनि होला पागल नै भन्थे मलाई।’ ‘त्यतिबेला  धेरै लाज लाग्थ्यो, अरुले के भन्लान भन्ने  सोच्थे, तर पछि धेरैले कामको प्रशंसा गर्न थाले।’ उनले मुस्कुराउँदै थपिन। 

अब उनलाई काम गर्न लाज लाग्दैन, उनी काममा बानी परिसकेकी छन्। तर ग्यारेजको काममा जोखिम पनि उस्तै भएकाले उनी कहिलेकाँही आत्तिन्छिन्। दैनिक ४/५ भन्दा बढी गाडीमा ग्रिस लगाउने गरेको बताउँदै उनले भनीन, ‘ग्रिस हाल्दा गाडीमुनी छिर्नुपर्छ, धेरै गाह्रो हुन्छ। कहिले शरिर ठोक्कीन्छ चोटपटक लाग्छ र ग्रीस हाल्दा गाडी हल्लिने हुँदा च्यापिन्छ की भन्ने पनि डर लाग्छ।’ 

कहिले कम मात्रामा सावारी आउने उनको ग्यारेजमा कहिले भने कामको अत्यधिक चाप हुन्छ। ‘दिनभरी काम गर्दा साँझ शरिर फिटिक्कै दुख्छ, घरमा पनि बच्चाहरुलाई हेर्नुपर्छ’ उनी भन्छिन, ‘कहिले त ग्यारेजमा आराम गर्न पाइन्छन तर कहिले भने  खाना खाँदाखाँदै दगुर्नु पर्छ।’

श्रीमतीकाे साथ पाउँदा श्रीमान खुसी 
राधाका श्रीमान रमेश नाथ श्रीमतीले ग्रिसिङको काम सिकेपछि आफुलाई सहयोग मिलेको बताउँछन्। आफुहरु यसैमा खुसी रहेको बताउँदै उनले भने, ‘काम राम्रो चल्दै गएपछि श्रीमतीलाई इञ्जिन सम्बन्धिका सबै काम सिकाउँछु। उनलाई इञ्जिन मिस्त्रि बनाएर उनको नामबाट कम्पनी नै खोल्ने सोच बनाएको छु।’

यस्तो छ राधाको सुझाव 
राधा जस्तोसुकै भएपनि आफ्नो देशमै काम गर्नुपर्ने बताउँछिन्। उनी आफ्नै देशमा राम्रो कमाई गर्न सकिने भन्दै सबैलाई बिदेश नजान सुझाव दिन्छिन। ‘अन्य देशका नागरिक यहाँ आएर काम गर्नुभन्दा हामी आफै गर्न सक्छौ नी। त्यसले देशलाई पनि फाइदा हुन्छ। हामी विदेशमा चर्पी सफा गर्न लाज मान्दैनौ तर यहाँ त्यस्ता काम गर्न लज्जाबोध गर्छौ,’ उनले भनीन, ‘महिला दिदीबहिनीले पनि यस्ता काम सिके परिवारकै हित हुन्छ, बस् आट्नुपर्यो।’ 

भिडियो : आरजु 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस