धनगढी विमानस्थल स्तरबृद्धिको काम अन्तिम चरणमा
धनगढी : धनगढी विमानस्थलको स्तरबृद्धि र धावन मार्ग मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ। धावनमार्ग मर्मत सम्भार, पार्किङ क्षेत्र विस्तार सहित सुरु भएको विमानस्थल स्तरबृद्धिको काम अन्तिम चरणमा पुगेको हो।
पहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तर वृद्धिसँगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने काम अन्तीम चरणमा पुगेको छ। तीन वटा विमान पार्किङ गर्ने क्षमता रहेको विमानस्थल मर्मत सकिएपछि ४ वटा विमान पार्किङ गर्न सकिने छ।
एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि लगायतका सेवा थप र विस्तारको योजना पनि रहेको छ। गत वर्षको सुरुदेखि नै विमानस्थल स्तरबृद्धीको काम थालिएको भएपनि विभिन्न कारणले ढिलाई हुदै आएको थियो।
कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनका कारण पनि बीचमा काम रोकिएको थियो। तर अहिले पुनः स्तरबृद्धिको कामलाई गति दिईएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए।
‘स्तरबृद्धीको काम अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘अहिले मार्किङको काम भईरहेको छ।’ विमानस्थलमा काम गर्ने अधिकांश कामदार प्रदेश बाहिरका भएका कारण लकडाउन अवधीमा काम गर्न नसकिएको बताईएको छ।
गत आर्थिक वर्ष २०७६÷७७ मा स्तरबृद्धिको काम गरिएको भएपनि चालु वर्षमा भने कुनै कार्यक्रम नरहेको विमानस्थलले जनाएको छ।
कम भिजिविलीटी अर्थात प्रतिकुल मौसममा पनि उडान भर्न सकिने गरी जापानी सहयोग नियोग जाईकाले विमानस्थलमा भीओआर–डिएमई उपकरण जडान गरिसकेको छ।
जाईकाले गत वर्षको फागुनमा उपकरण जडान गरेको थियो। प्रतिकुल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई सामाधानका लागि उपकरण जडान गरिएको भएपनि परीक्षण हुन सकेको छैन्।
कोरोना प्रभाव पछि जारी लकडाउनकै कारणले गर्दा परीक्षण गर्न नसकिएको प्रमुख बुढथापाले बताए।