धनगढीमा प्राधिकरणको मनपरी, अनियमित विद्युत कटौतीले नगरबासी हैरान
धनगढी : धनगढीमा गर्मी बढ्दै जान थालेपछि अघोषित लोडसेडिङ हुने क्रम सुरु भएको छ। उप–महानगरपालिका सहित आसपासका क्षेत्रमा दैनिक जसो अघोषित रुपमा हुने लोडसेडिङले नगरबासी आजित भएका छन्। पछिल्लो दुईदिन यता धनगढीमा अत्यधिक गर्मी भएसंगै अनियमित विद्युत कटौती हुन थालेपछि दैनिकी कष्टकर बनेको तारानगरका स्थानीय चुडामणी भट्टले बताए।
‘हरेक वर्ष गर्मी मौसममा नै विभिन्न उपकरणमा खरावी देखिनु भनेको विद्युत प्रधिकरणको गैर जिम्मेवारी हो’, उनले भने, ‘यो मौसममा खपत हुने विद्युतको अवस्थालाई बुझेर आपुर्ती सहज गर्न तयारी गर्नुपर्ने हो। गर्मी बढेसंगै खपत समेत बढ्ने भएकाले विद्युतीय उपकरण मर्मत लगायतका वाहानमा भईरहेको अघोषित लोकसेडिङले आम नगरवासी मारमा परेका छन्।’
विद्युत कटौती भए वैकल्पीक उपकरणको समेत विक्रि हुने हुदाँ व्यपारी संगको मिलेमतोमा अघोषित लोडसेडिङ गर्ने गरेको आरोप पनि भट्टले लगाए। समान्य विद्युतको तार चुडिएको भएपनि विद्युत प्राधिकरणले मर्मतमा लापरवाही गर्दा समस्या खेप्नु परेको गुनासो नगरवासीको छ। शहरी क्षेत्रमा विद्युतीय उपकरणको बढ्दो प्रयोग भएका बेला हुने लोडसेडिङले जनजीवन असहज बनाईदिएको छ।
विजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षती पुग्ने गरेको धनगढीकै अर्का स्थानीय हरीप्रसाद भट्टले बताए। ‘अहिले कोरोनाको जोखिम नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले गर्दा आम नगरवासी घर भित्रै छन्। गर्मी बढेको छ, विद्युतको खपत पनि बढेको होला तर प्राधिकरणले व्यवस्थापन गर्नुपर्छ, अहिले विद्युत अनियमित भईरहेको छ’, उनले भने ‘ विद्युत प्राधिकरणकै मनपरीका कारण हामी मारमा परेका छौँ।’
धनगढी वितरण केन्द्रले विभिन्न वाहाना बनाएर विद्युत कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरुले समस्या झेल्नु परेको छ भने विद्युत नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्कील परिरहेको छ। झण्डै ५७ हजार भन्दा बढी सेवाग्राही भएको धनगढी वितरण केन्द्रमा यो समस्या बढी देखिएको छ।
तर केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले भने लोड बढेका कारण विद्युत लाईनमा समस्या आईरहेको दावी गर्छन्। ‘लोड बढेको समयमा प्राविधिक समस्या आउछ नै’, उनले भने, ‘प्राविधिक कुरा हो, विर्गेपछि बनाउदै गईरहेका छौं।’ पछिल्लो दुई/तीन दिन यता बिग्रिएको स्थानमा मर्मत भईसकेका कारण अबदेखि विद्युत नियमित हुने दावी प्राधिकरण प्रमुख चौधरीले गरेका छन्।