साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो
साउदीको जेद्दा क्षेत्रको मदिनामा कोरानाका सङ्क्रमणबाट एक नेपालीको ज्यान गएको छ। जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना सङ्क्रमण भएको १० जना निको भएको र एक जनाको ज्यान गएको जेद्दामा रहको महावाणिज्य दूतावासले जनाएको छ।
बाँकी ४३ जनाको उपचार भइरहेको छ। कोरोनाको कारण ज्यान गुमाउने नेपालीको परिवारप्रति दुःख व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ। साउदीमा दूतावासको जानकारीमा आएअनुसार ५० जना नेपालीमा सङ्क्रमण देखिएको छ। जसमध्ये १५ जना निको भएका छन्।
साउदीमा अहिलेसम्म ३९ हजार ०४८ जनामा कोरोना सङ्क्रमण भएको छ। यसमध्ये ११ हजार ५४७ जना निको भएका छन् भने २७ हजार ३४५ जनाको अस्पतालमा उपचार भइरहेको छ। २४६ जनाको कोरोनाको कारण ज्यान गएको छ।