पलिया क्वारेन्टाइनबाट नेपाली मजदुरको गुनासो– एक छाक खाना दिन्छन्, पेटभरी हुँदैन्
धनगढी : भारतको उत्तर प्रदेशस्थित पलिया क्वारेन्टाइनमा राखिएका नेपालीहरुले खानाको समेत समस्या बढ्दै गएको गुनासो गरेका छन्। डेढ महिनादेखि पलियाको एक कलेजमा राखिएका झण्डै दुई सय जना नेपाली मजदुरहरुले पेटभरी खाना समेत नपाएको गुनासो गरेका हुन्।
‘सुरुमा पलिया क्वारेन्टाइनमा हामी एक सय २४ जना मात्रै थियौँ,’ कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ९ का जयवहादुर थापाले भने, ‘अहिले सङख्या बढ्दै गएर दुई सय पुगेको छ। पेटभरी खाना नपाएको पनि हप्तौ भईसकेको छ।’
उनका अनुसार भारतका विभिन्न सहरबाट अहिले पनि नेपाल फर्किनका लागि पलिया पुग्ने क्रम जारी रहेको छ। पलिया क्वारेन्टाइनमै रहेका गोदावरी नगरपालिकाको स्याउलेका भुपेन्द्र अधिकारीले केही दिनदेखि क्वारेन्टाइनमा बसेकाहरुले एक छाक मात्रै खाना पाईरहेको बताए।
‘प्रत्येक दिन दिउसोको २, ३ बजेतिर खाना दिईन्छ। त्यस अगाडि न बिहान केही नास्ता हुन्छ न खाना खाईसकेपछि साँझ नास्ता हुन्छ।’ पलिया क्वारेन्टाइनबाट टेलिफोनमा अधिकारीले दिनेश खवरलाई भने।
उनका अनुसार अहिले पलिया क्वारेन्टाइनमा झण्डै दुई सय नेपाली मजदुर छन्। उनीहरु मध्ये अधिकासं कैलालीकै छन्। पहाडी जिल्ला दार्चुला र बैतडीको सीमा हुँदै दुई हजार ६ सय जना मजदुरको उद्धार भएपछि उनीहरु पनि हर्षित भएका थिए।
तर उद्धार नभएपछि उनीहरु अहिले कष्टकर दैनिकी बिताउन बाध्य भएका छन्। कैलाली प्रशासनको कमजोरीका कारण अहिले सम्म उद्धार नभएको गुनासो उनीहरुले गरेका छन्।