कुवेतमा एकजना नेपालीमा कोरोना सङ्क्रमण
कुवेतमा एकजना नेपालीमा कारोना सङ्क्रमण भएको पुष्टि भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले मार्च ३१ मा थपिएका २८ जना नयाँ कोरोना सङ्क्रमितमध्ये एकजना नेपाली नागरिक पनि रहेको जनाएको छ।
कुवेतमा सङ्क्रमण बढ्दै गएको र नेपाली नागरिक पनि सङ्क्रमित भएपछि त्यहाँ रहेको नेपाली दूतावसले सावधानी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई सरसफाईमा विशेष ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, भिडभाडमा नजान आग्रह गरेको छ। यस्तै सामाजिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक अन्य प्रयोजनको लागि घरबाट ननिस्कन र आफू सङ्क्रमित भएको आशंका लागेमा नजिकको अस्पतालमा गएर सम्पर्क राख्न अनुरोध गरेको छ।
यस्तै कोरोना भाइरससम्बन्धी थप जानकारीको लागि कुवेतको स्वास्थ्यमन्त्रालयको सम्पर्क नम्बर २४९७०९६७ मा सम्पर्क गर्न सकिनेछ। यस्तै थप जानकारीको लागि नेपाली दूतावास कुवेतको सम्पर्क नम्बर २५३२१६०३ र २५३२१६०४ मा सम्पर्क गर्न सकिने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ। अहिलेसम्म कुवेतमा ३१७ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ८० जना निको भएर घर फर्किसकेका छन्।