सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–भारत मैत्री बसमा तस्करी

२०७६ चैत्र ६, ०९:३८ खबर संवाददाता

नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि नेपालबाट भारतको दिल्ली लगायतका शहरमा सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बन्द गर्ने निर्णय चैत्र ३ गते गरेको थियो। तर, हालसम्म त्यस्ता बसहरु निर्वाध रुपमा चलिरहेको मात्र होइन त्यस्ता बसमा भन्सार छली गरेका सामान ओसारिरहेको पाइएको छ।

सरकारको निर्णयको अवज्ञा गर्दै जबरजस्ती बस सञ्चालन गर्दा कोरोना भाइरसको जोखिम बढेको छ भने तस्करी पनि भइरहेको देखिएको हो। नेपाल–भारत चल्ने बसमा भारतको कोरोना प्रभावित शहरहरु दिल्ली, बनारस, आगरा, लखनऊ लगायतका शहरबाट नेपालीसँगै भारतीयहरु पनि नेपाल आइरहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर ९राजश्व तथा भन्सार सुरक्षा गस्ती० रुपन्देही डण्डाले बिहीबार भारतबाट भित्रिएको लु २ ख ३४८५ नम्बरको बसमा भन्सार छली गरी नेपाल ल्याइएको विभिन्न साम्रगी बरामद गरेको छ। त्यो बस दिल्लीबाट बुटवल आउँदै थियो। गुल्मका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बसमा फल्स बटम बनाएर कपडा, विद्युतीय सामग्री, केमिकल र मदिरा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको बताए।

बरामद साम्रगीको मूल्य एक लाख ४१ हजार अनुमान गरिएको छ। बरामद सामानसहित बस र बसका चालक, सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको डिएसपी शाहीले बताए। नेपालबाट भारतका विभिन्न शहरमा जाने आउने बस दैनिक ५० भन्दा बढी छन्।
 

कमेन्ट लोड गर्नुस