कोरोना भाइरसका कारण भारतमा रहेका नेपाली त्रसित
कोलापुर, भारत: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण भारतमा रहेका नेपाली त्रसित भएका छन्। चीनको वुहानबाट फैलिएको यो भाइरसले अहिले विश्वका एक सय ५८ देशहरुमा फैलिरहेको छ। रोगबाट भारतमा हालसम्म २ जनाको ज्यान गएको छ। भारतमा एक सय २९ जनामा कोरोनाको संक्रमण रहेको तथ्याँक छ। प्रत्येक दिन भारतमा संक्रमितको संख्यामा वृद्धि भएपछि यहाँ बस्ने नेपालीहरु त्रसित भएका हुन्।
ठुलो संख्यामा संक्रमित फेला परेपछि भारत सरकारले देशमा आपतकाल घोषणा गरेको छ। बढी भिडभाड हुने ठाउँहरुबाट अझै रोग फैलिन सक्ने भन्दै भारत सरकारले विभिन्न संघ/संस्था, सिनेमा घर, विद्यालय, सपिङ सेन्टर, होटेल लगायतका सबै स्थानहरु १५ मार्चदेखि ३१ मार्चसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ।
रोजगारीका लागि भारतमा आएका नेपालीहरु होटल बन्दभएपछि संकटमा परेका छन्। उनीहरु अहिले स्वदेश फर्किने सोचमा छन्। कैलालीका नविन रेग्मीले भारतमा प्रत्येक दिन फैलिएको कोरोनाका कारण संकटमा रहेको बताए। उनका अनुसार भारतमा रहेका अन्य नेपालीहरुमा पनि अन्यौलता र त्रास छ। उनले भारतमा संचालनमा रहेका होटलहरु बन्द भएपछि झन समस्या भएको बताए।
कोरोना रोगको त्रासका कारण दैनिकजसो भिडभाड हुने होटेलमा अहिले एक/दुई जना पनि ग्राहक आउन छोडेको भारतको कोलापुरमा होटेल व्यवसाय गर्दै आएका कमल मल्लले बताए। होटेल व्यवसायबाट आयआर्जनको बन्द भएपछि अब के गर्ने भन्ने चिन्ता उनीमा छ।