कैलालीको एक इट्टा भट्टाबाट १४ भारतीयको उद्धार
धनगढी : कैलालीको एक इट्टा भट्टाबाट १४ भारतीय नागरिकको उद्धार गरिएको छ। कैलालीको लम्की–चुहा नगरपालिका–८ को बिएमआइ इट्टा उद्योगबाट १४ जना भारतीयको उद्धार गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, कैलालीले ८ बालबालिका, चार पुरुष र २ जना महिलाहरूलाई बुधवार उद्धार गरेर प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)को जिम्मा लगाएको हो। इलाका प्रहरी कार्यालय, लम्कीले उद्योगबाट उद्धार गरेका उनीहरूलाई टीकापुर प्रहरीमा बुझाएको थियो। इलाका प्रहरी कार्यालय, टीकापुरले बुधवार साँझ भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो।
कैलालीको लम्की–चुहा नगरपालिका–८ मलभङ्गाको विएमआई ईट्टा उद्योगका सञ्चालक भद्रबहादुर विष्टले १४ जना भारतीय नागरिकलाई घर जान नदिएको भन्दै भारतीय प्रहरीमा उजुरी परेको थियो। भारतीय सुरक्षा निकायले जिल्ला प्रशासन कार्यालय, कैलाली मार्फत आफ्ना नागरिकको उद्धारका लागि आग्रह गरेको थियो। भारतीय सुरक्षा निकायको आग्रहमा कैलाली प्रहरीले उनीहरूलाई भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो। विष्टले भारतीय एक व्यक्ति मार्फत कामदार ल्याएका थिए। तर, उनी ८० हजार रुपैयाँ लिएर फरार भएपछि १४ जना भारतीय नागरिकलाई कामबाट घर जान नदिइएको हो। विष्टले ८० हजार रुपैयाँ असुल भएपछि घर जान दिने भारतीय नागरिकहरूलाई बताउदै आएका थिए।