अत्तरिया उद्योग वाणिज्य संघ महोत्सव लगाउन छलफल गर्दै
धनगढीः अत्तरिया उद्योग वाणिज्य संघ महोत्सव लगाउन छलफलमा जुटेको छ। आठ वर्षदेखि अत्तरियामा लाग्दै आएको प्रादेशिक महोत्सव यो वर्ष पनि लगाउने भन्दै उद्योग वाणिज्य संघ छलफलमा जुटेको हो।
आठ वर्षदेखि पुस २७ गतेबाट १० देखि १२ दिनसम्म लाग्दै आएको महोत्सव यो वर्ष अहिलेसम्म रोकिएको छ। संघका ११ जना जना सदस्य र पदाधिकारीले राजीनामा दिएपछि महोत्सव लगाउने मिति अनिश्चित बनेको हो। तर, सबै पक्षसँग छलफल गरेर माघ भित्रै महोत्सव लगाउने तयारी थालिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए। ‘यो वर्ष अहिलेसम्म महोत्सव लगाउन सकिएको छैन। आठ वर्षदेखि पुस २७ गतेबाट सुरु हुने महोत्सव अहिलेसम्म रोकिएको छ,’ उनले भने, ‘यो वर्ष माघमा महोत्सव लगाउने हिसाबले छलफल गरिरहेका छौँ। सबै पक्षसँग आवश्यक छलफल गरेर माघमै महोत्सव लगाउने छौँ।’
गत वर्षको महोत्सवमा प्रवेश टिकटमा गरिएको अनियमितताका कारण यो वर्ष महोत्सव लगाउन ढिलाइ भएको हो। गत वर्षको प्रवेश टिकटमा भएको घोटालाका कारण ११ जना सदस्यले राजीनामा दिएका छन्। तर, विधानअनुसार निर्णय गरेर महोत्सव लगाउने तयारी थालिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराको भनाइ छ। उनले स्थानीय व्यवसायी र सर्वसाधारण महोत्सव लगाउनुपर्छ भन्ने पक्षमा उभिएको बताए। ‘स्थानीय व्यवसायी र सर्वसाधारण महोत्सव लगाउने पक्षमा हुनुहुन्छ। माघ महिना भित्रै महोत्सव लगाउने र त्यसका लागि सबै पक्षसँग छलफल भइरहेको छ,’ अध्यक्ष बोहराले भने।
आठ वर्षदेखि अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा लाग्दै आएको महोत्सव लगाउन हुन्न भने आवाज केहीले उठाएको अध्यक्ष बोहराले बताए। तर स्थानीय व्यवसायी र सर्वसाधारण महोत्सव लगाउने पक्षमा उभिएकाले महोत्सव लगाउन बल मिलेको उनले बताएका छन्। अत्तरिया महोत्सव लाग्दा सबैलाई फाइदा हुने घाटा कसैलाई पनि नहुने अध्यक्ष बोहराको टिप्पणी छ।